
खोटाङ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । खोटाङका साहित्यकार डा. पुरण राईले आफ्नो आमाको नाममा स्थापना गरेको ५० हजार राशीको ‘मौलशोभा राई आमा सम्मान–२०८२’ मेयर साम्पाङको आमा जसमायाँ राईलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
साहित्य, कला, संस्कृति, अर्थ र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई जन्म दिने आमालाई प्रदान गरिने सम्मान यस वर्ष मेयर साम्पाङ मातालाई प्रदान गर्ने निर्णय गरिएको हो । श्रम अभियान तथा सुशासनको माध्यमबाट मेयर साम्पाङले नगर र देशमा पुर्याएको योगदानको कदर स्वरुप उनकी आमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको डा. राईले बताए ।
‘मौलशोभा राई आमा सम्मान’ निर्णायक समितिले डा. राईको जन्मदिनको अवसर पारेर साम्पाङ माता जसमायाँलाई सम्मान प्रदान गर्ने घोषणा गरेको हो । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेकी जसमायाँ हाल धरानमा बस्दैआएकी छन् ।
डा. चमा थुलुङ (सुकराज राई) अध्यक्ष तथा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी सदस्य रहेको निर्णायक समितिले यस वर्षको ‘मौलशोभा राई आमा सम्मान’कालागि योग्य पात्र चयन गरेको हो ।
सम्मान संस्थापककी आमा, सम्मानित व्यक्तित्वको जन्मदिन वा कुनै विशेष महिलासंँग सम्बन्धित चाडपर्वको अवसर पारेर सो सम्मान अर्पण गर्ने तयारी गरिएको छ । उनलाई नगदसहित ताम्रपत्र प्रदान गरिनेछ । गत वर्ष साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई सो सम्मान प्रदान गरिएको थियो ।
समाजका प्रतिष्ठित सन्तानलाई जन्म दिने आमाहरुमध्ये एकजना आमालाई हरेक वर्ष प्रदान गर्नेगरि डा. राईले २०८१ सालमा आफ्नो आमाको नाममा ‘मौलशोभा राई आमा सम्मान’ स्थापना गरेका हुन् । आमाको ‘कोखको सम्मान’ समेत भएकाले ‘मौलशोभा राई आमा सम्मान’को विशेष महत्व रहेको डा. राईले बताए । डा. राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा (छापगाउँ) निवासी हुन् ।
