
खोटाङ, २६ भदौ । स्थानीय प्रशासनले खोटाङमा निषेधाज्ञा जारी गरेको छ । ‘जेन–जी’को नाममा विभिन्न समुहले सार्वजनिक संरचनामा क्षती पुर्याउन सक्ने जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
भदौ २६ गते बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ती जम्मा हुन नपाउनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
यस्तै, प्रशासनले कर्फ्यूलाई निरन्तरता दिएको छ । भदौ २६ गते साँझ ५ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनले भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो ।
उत्तरमा दिक्तेलको मुढे इलाका क्षेत्र, दक्षिणमा सिद्धेश्वर गुफा जाने बाटो र अस्पतालचोकबाट दुई सय मिटर अगाडि लफ्याङ जाने बाटो, पुर्वमा अल्छेढुंगाबाट पाँच सय मिटर अगाडि सोल्मातर्फ र पश्चिममा रत्नपार्कबाट पाँच सय मिटर अगाडि बाम्राङतर्फ रातभर कर्फ्यू लगाइएको छ ।
जीउधनको रक्षा र सार्वजनिक सम्पत्तीको संरक्षणका लागि तोकिएको क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनले जनाएको छ ।
