
✍ भीम राई
यूके, २२ कात्तिक । झट्टै हेर्दा दामले देखिने साइनुले उँ मेरो छोरो हो । त्यसबेला भर्खर १७ टेक्दै थियो र एउटा थोत्रो बस चढेर हरेक बिहान गोसाइनन कलेज, वेल्स जान्थ्यो । मलाई भित्रभित्रै छोरा एकजना कुशल चिकित्सक होस् भन्ने रहर लागिरहेको थियो । नभन्दै मेरो रहर पुरा गर्न उनले कलेजमा दुई बर्ष विज्ञान अध्ययन गर्यो र पाँच बर्ष लिभरपुल युनिभर्सिटीमा मेडिसिन पढेर बेबि चिकित्सक बन्यो ।
पेसाले म पूर्व सैनिक हुँ, त्यसैले पूर्ण चिकित्सक बन्न के कति समय वा खर्च लाग्छ भनेर मलाई झिनो ज्ञान थिएन । त्यसपछि लिभरपुलमा दुई बर्ष फाउन्डेसन तालिम गर्यो । अनि क्रमशः बर्मिङघाम, कभेन्ट्रि र वुस्टर सहरहरुमा दुई बर्ष लगाएर कोर तालिम गर्यो । त्यति तालिम सकेपछि धुरन्धर वारविक युनिभर्सिटी धायो र मास्टर्स इन मेडिकल इजुकेसन (एमएमइ) गर्यो ।
अब शल्य चिकित्सक बन्नको लागि लण्डनतिर लाग्यो । लन्डनमा पुगेर मेम्वरसिप अफ द रोयल कलेज अफ सर्जन (एमआरसिएस) परिक्षा उतिर्ण गरेपछि उनको (डाक्टर राई) उपाधिलाई तिलान्जलि दिएर (मिस्टर राई)मा गयो ।

त्यसपछि मानिसको आन्द्रा सम्बन्धि हुने रोगहरुको बिषयमा तीन बर्ष अध्ययन गर्न पिएचडिको लागि इम्पेरियल कलेज लन्डन छिर्यो । त्यहाँदेखि अक्सफोर्ड युनिभर्सिटी डिनारिओमा क्रमशः ६ बर्षे शल्य चिकित्सक (कोलोरेक्टल सर्जन) तालिमको लागि अन्तिम बर्ष आफ्नो दिमाग घोटिरहेको छ ।
तर उनको अध्ययन सकिनै लाग्यो भनेर फुरुङ्गै भएको मनलाई, “ड्याडी ! दुई हजार पैसा पठाइ दिनुहोस है ?” फोनमा भन्छ ।
“होइन ! फेरि किन र ?”
“फेलोसिप अफ द रोयल कलेज अफ सर्जन (एफआरसिएस) को परिक्षा शुल्क तिर्न छ ।”
त्यसपछि म अवाक बन्छु । म १८ बर्षमा भर्ति भएर २० बर्ष नोकरि गरेर ३८ बर्षमा सेवा निबृत भएको मान्छे । उँ पनि झन्डै-झन्डै उमेरले ३८ बर्ष पुग्नै लागेको छ तर पढाइ सकिने छाँटकाँट देखिदैन् । उनको बेरसिलो जिन्दगीलाई सम्झदा मलाई यदाकदा यस्तो लाग्छ, – “होइन ! एक जुनि बाँच्दा मानिसले कति पढनु पर्छ होला ?” – (पुर्व यूके लाहुरे राईको स्टाटसबाट साभार गरिएको ।)
