
सोलुखुम्बु, ३० कात्तिक । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई कात्तिक २९ गते अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो । जरूरी काम परेपछि उहाँले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गर्नु भयो, तर जवाफ सँधैझैँ पाउनु भो, “टिकट छैन” । यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ ।
कार्कीलाईजस्तै धेरैलाई अत्यावश्यक काम परे पनि सामान्य फोन, सामान्य शैली र सामान्य नागरिकको हैसियतमा जहाजको टिकट पाइन्छ भन्ने विश्वास लाग्न छाडिसकेको छ । अन्ततः कार्की काठमाडौँ जान सडकमार्ग नै रोज्न बाध्य हुनुभयो । “यो घटना व्यक्तिगत पीडा मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, कति पहुँचवाला व्यक्तिको कब्जामा र कति सर्वसाधारणविरोधी बनिरहेको छ भन्ने कठोर यथार्थ हो” सल्लेरीका रस्विन मगरले भन्नुभयो ।
अहिले फाप्लु–काठमाडौँ उडान चार दिन मात्रै, त्यो पनि ‘चिनजान’वाला यात्रुका लागि मात्र । फाप्लु विमानस्थलमा अहिले हप्तामा नेपाल वायुसेवा कम्पनीले चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) उडान भर्दै आएको छ । निजी क्षेत्रका विमान कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाउँदै फाप्लु–काठमाडौँ उडान तालिका नै हटाएपछि सोलुखुम्बुवासी नेपाल एयरलाइन्सकै भर पर्नुपर्ने बाध्यतामा छन् । तर समस्या यहीँदेखि सुरु हुन्छ ।
नेपाल एयरलाइन्सको एकाधिकारजस्तै भएको यस मार्गमा सर्वसाधारणको पहुँच झन्–झन् सिमित हुँदै गएको छ । फोन गर्नेबित्तिकै सुन्ने, उत्तर “टिकट सकिसक्यो, सिट खाली छैन, अघिल्लो हप्तादेखि नै बुकिङ छ” । तर यही एयरलाइन्सले ‘माथिबाट सिफारिस आएपछि भने तुरुन्तै टिकट व्यवस्था गरिदिने सर्वसाधारणको तितो अनुभव छ ।
सल्लेरीका व्यवसायी महेश अधिकारी भन्नुहुन्छ, “सामान्य मानिसले टिकट माग्यो भने ‘छैन’ भन्छन्, तर ठूला मान्छेले फोन गरेपछि तुरुन्तै टिकट निकालिदिन्छन् । फाप्लुमा अहिले पावर नलागाई एयरलाइन्सको टिकट पाउनु लगभग असम्भवजस्तै भएको छ ।”
सोलुकै सन्देश राईका अनुसार काठमाडौँबाट सोलु आउँदा त्यति समस्या छैन तर सोलुबाट काठमाडौँ जाँदा टिकट पाउनु भनेको फलामको चिउरा चपाए सरह भइरहेको छ । विदेसी पर्यटकलाई प्राथमिकतामा राख्नुपर्ने भएकाले सामान्य यात्रुलाई टिकट दिन समस्या हुनेगरेको नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पा बताउनुहुन्छ । “विदेशी पर्यटकहरू काठमाडौँ फर्कने भएकाले उनीहरूलाई प्राथमिकतामा राख्नुपर्छ,” स्टेशन इन्चार्ज शेर्पाले भने, “त्यसैले सामान्य यात्रुलाई सिट दिन समस्या हुन्छ ।” तर स्थानीयबासीहरु अवस्था स्टेशन इन्चार्जले भनेको भन्दा फरक रहेको दाबी गर्छन् । उनीहरुको साझा गुनासो छ कि, “यदि फाप्लुबाट विमान चढ्नुपर्छ भने टिकटभन्दा पहिला ‘पावर’ र पहुँचवाला आफन्त गुहार्नुपर्छ ।”
सोलुखुम्बुबाट सजिलोसँग हवाई टिकट नपाएको गुनासो काठमाडौँको ट्राभल्स एजेन्सीमा समेत आउने गरेको छ । एजेन्सीका एक अधिकारीले भन्नुभयो, “टिकट नपाउने पटक पटक गुनासो आएपछि एयरलाइन्सको हेड अफिसमा पनि समस्या टिपाइसकेको छु” ।
सोलुखुम्बु पर्यटनको आधार हो, सगरमाथाको प्रवेशद्वार हो, नेपालकै गौरव हो तर त्यही जिल्लामा हवाई टिकट जस्तो आधारभूत सेवा पाउन ‘पावर’को आवश्यकता पर्नु, यो केवल प्रशासनिक कमजोरी होइन, सरकारले सम्बोधन गर्नैपर्ने गम्भीर नागरिक समस्या हो ।
