
खोटाङ, ७ मंसिर । श्रम संस्कृति पार्टीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सडक मर्मत गरेको छ । श्रम संस्कृति पार्टीको हलेसी तुवाचुङ नगर कमिटिले सल्लेमा श्रमदानबाट करिब पाँच किलोमिटर सडक मर्मत गरेको हो । करिब ४० जना श्रमदाताको सहभागीतामा सल्लेदेखि महादेवबेँसीसम्मको सडक मर्मत गरिएको श्रम संस्कृति पार्टीको हलेसी तुवाचुङ नगर कमिटि सदस्य सन्तोष श्रेष्ठले बताए ।
वर्षाको समयमा सो सडकको विभिन्न ठाउँमा ढिस्को खसेर थुप्रिएको थियो । सामान्य मर्मत गरेर बाईक मात्रै हिँडाउने गरिएको सडकमा चार पाङ्ग्रे गाडी हिड्न मिल्नेगरी मर्मत गरिएको श्रम संस्कृति पार्टीले जनाएको छ । श्रमदानमा जिल्ला कमिटि सदस्य कौशिला राई, रमेश पौडेल, नगर कमिटि संयोजक महाबीर राई लगायतको सहभागीता रहेको थियो । श्रमदातालाई आवत–जावत गर्नका लागि दयन्द्र राईले गाडी उपलव्ध गराएको सदस्य श्रेष्ठले जानकारी दिए ।
यस्तै, श्रम संस्कृति पार्टीको रावाबेँसी गाउँपालिका कमिटिले विद्यालयका लागि श्रमदान गरेको छ । पालिका कमिटिले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको दम्कुस्थित कालिका आधारभुत विद्यालयमा पुगेर श्रमदान गरेको हो । विद्यालयको घेराबार निर्माणका लागि श्रमदान गरिएको श्रम संस्कृति पार्टीको रावाबेँसी गाउँपालिका कमिटि संयोजक पृथ्बी गुरुङले बताए ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले मंसिर ६ गते खोटाङका विभिन्न पाँच स्थानमा श्रमदान गरेको छ । सल्ले र दम्कुसँगै दिक्तेल, चोखाने र ऐसेलुखर्क बजारमा श्रमदान गरिएको श्रम संस्कृति पार्टीका खोटाङ संयोजक प्रताप राईले बताए ।
