खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश सम्प्रेषण

खोटाङ, १ पुस । केन्द्रमा भएको एकता अनुसार खोटाङमा नेपाली कम्यूनिष्ट पार्टीले ‘एकताको’ सन्देश प्रवाह गरेको छ । कात्तिक १९ गते केन्द्रमा भएको एकता अनुसार जिल्लामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको विद्रोही समुहबीच एकता भएको सन्देश प्रवाह गरेको हो ।

नेपाली कम्यूनिष्ट पार्टीले पुस १ गते दिक्तेलमा ‘एकता सन्देश सम्प्रेषण कार्यक्रम’ गर्दै जिल्लामा हालसम्म फरक–फरक दलमा रहेका नेता कार्यकर्ताहरु एक भएको सन्देश दिएको जनाएका छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको विद्रोही समुहका नेताहरु एउटा मञ्चमा देखिएका थिए ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा प्रमुख अथितिको रुपमा नेता हरिबोल गजुरेल र विशेष अथितिको रुपमा कोशी प्रदेशका पुर्व मुख्यामन्त्री राजेन्द्र राईले सम्बोधन गरेका थिए ।

यस्तै, नेपाली कम्यूनिष्ट पार्टीका नेताहरु सनबहादुर राई, रामकुमार राई पासाङ, समिता कार्की अस्मिता, राजन राई, कुलप्रसाद फुयाँल, धुर्व बुढाथोकी, देवराज राई लगायतले सम्बोधन गरेका थिए । पार्टीको एकताले कार्यकर्तामा उत्साह ल्याएको वक्ताहरुको भनाइ थियो ।

पुस ५ गतेदेखि पुस १२ गतेसम्म हरेक पालिकामा एकता सन्देशसभा गर्ने नेपाली कम्यूनिष्ट पार्टीले जनाएको छ ।