बाँदरको वन्ध्याकरण खोटाङबाट सुरु हुने

खोटाङ, ११ पुस । नेपाल सरकारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बाँदरको वन्ध्याकरण कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । पुस ९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बाँदरको वन्ध्याकरण गर्ने कार्यक्रमलाई ‘पाइलटिङ’को रुपमा अघि बढाउने निर्णय गरेको हो ।

नेपालमै पहिलोपल्ट बाँदरको वन्ध्याकरणको पाइलटिङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गर्ने निर्णय भएको मेयर तीर्थराज भट्टराईले बताए । बाँदर नियन्त्रण सम्वन्धी कार्यक्रम, कार्ययोजना र सोसँग सम्वन्धित कार्यविधि तथा एसओपी तयारी वारे छलफल गर्न मन्त्रालयले बैठक बोलाएको थियो ।

बाँस प्रवद्र्धन गर्नुपर्ने लगायतका माग गर्दै मेयर भट्टराई गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म माइतीघर मण्डलामा ‘सत्याग्रह’मा बसेका थिए । सरकारसँग १६ बुँदे समझदारी भएपछि मेयर भट्टराईले आमरण अनसन तोडेका थिए । सो सम्झौतामध्ये बाँदर, दुम्सी, बँदेल जस्ता जंगली जनावरबाट किसानलाई छुटकारा दिने उपाय खोज्नुपर्ने उल्लेख थियो ।

त्यही सम्झौताको बुँदा कार्यान्वयनका क्रममा मन्त्रालयले खोटाङबाट बाँदरको वन्ध्याकरण अभियानलाई पाइलटिङको रुपमा अघि बढाउने निर्णय गरेको मेयर भट्टराईले बताए ।