
खोटाङ, २ माघ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लामा निर्वाचन सम्वन्धी सम्पूर्ण गतिविधि सञ्चालनदेखि निर्वाचन गराउने प्रयोजनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिस मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । सो व्यवस्था अनुसार न्यायाधिश फणिन्द्रप्रसाद पराजुलीले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्वयं जिल्ला न्यायाधिश पराजुलीले उद्घाटन गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनको अवसरमा आसन्न निर्वाचन कार्यक्रम कार्यतालिका वारे जानकारी दिइएको छ । माघ ६ गते उम्मेदवारको मनोनयपत्र दर्ता, सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको नामावली सूचि प्रकाशन, माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, माघ ७ र ८ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने तथा फागनुन २१ गते मतदान गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै सुरक्षाका लागि शसस्त्र प्रहरीको टोली परिचालन गरिएको अदालतका श्रेष्तेदार एवं सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए ।
