स्वर्गीय पदमध्वज राईको सम्झनामा फुटसल प्रतियोगीता हुने

खोटाङ, २९ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङमा खुल्ला पुरुष फुटसल प्रतियोगिता गर्न लागिएको छ । समाजसेवी स्वर्गीय पदमध्वज राईको योगदानको सम्मान र सम्झनामा आगामी माघ २ गतेदेखि माघ ५ गतेसम्म खुल्ला पुरुष फुटसल प्रतियोगिताको तयारी गरिएको हो । युवा पुस्तामा खेलकुदको भावना जागृत गर्दै फुटबलप्रति आकर्षित गर्नका लागि स्वर्गीय पदमध्वजकै परिवारको प्रायोजनमा स्थानीय राइजिङ्ग स्पोर्टस क्लबले प्रतियोगीता गर्न लागेको हो ।

खेल सामातुङस्थित पदमध्वज राई खेलमैदानमा नकआउट सिस्टममा खेलाउने तयारी गरिएको छ । प्रतियोगीमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ४० हजारको साथमा ट्रफी र दोश्रो हुने टिमले २० हजारको साथमा मेडल र प्रमाण–पत्र पाउने छन् । प्रत्येक खेलका मेन अफ द म्याचलाई जनही पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागी हुने टिमले माघ १ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । खेलमा जम्मा ६ जना र अतिरिक्त खेलाडिसहित ९ जना हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगीताले स्थानीय खेल मैदानलाई सामुदायिक खेलकुद गतिविधिको केन्द्रको रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।