
खोटाङ, २७ माघ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय कनककुमारी पोखरेल र छोरा डोरमणी पोखरेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले गाउँपालिकाको ६ वडाका एक/एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ सम्मान प्रदान गरेको हो ।
दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले महिला स्वास्थ्य स्वयंसेविका सम्झना थापा मगर, इन्द्र परियार, लङ्कमायाँ मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई सम्मान गरेको छ । माघ २६ गते शारदा मावि, खार्पामा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही सात हजार सहित सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक तथा भौगोलिक कठिनाईका बावजुद सेवा गरिरहेका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिकालाई प्रतिष्ठानले ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ सम्मान प्रदान गर्दैआएको छ ।
यस्तै, शारदा माबिका कक्षा ११ र १२ मा अध्यायनरत विपन्न तथा जेहेन्दार छात्र/छात्रालाई ‘डोरमणी पोखरेल छात्रबृत्ति’ प्रदान गरिएको छ । कक्षा ११ की छात्रा नविना मगर, कक्षा १२ का ललिता श्रेष्ठ, होम तामाङ र गीता बिसंखेलाई जनही सात हजारको दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

कनककुमारीको स्मृतिमा २०६५ सालमा स्थापना गरिएको ७ लाखको अक्षय कोषको व्याजबाट प्रतिष्ठानले प्रत्येक वर्ष शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तीहरुलाई सम्मान गर्दै आएको छ । निरक्षर भएर पनि आफ्ना सन्तानलाई सक्षम र सचेत बनाउन सफल भएका आमा कनककुमारीको सम्झनामा छोराहरु पुष्पमणी पोखरेल, डा. नारायणप्रसाद पोखरेल, पुर्वमन्त्री गिरीराजमणी पोखरेल, मुरारीमणी पोखरेल, केदारमणी पोखरेल, सुदेशमणी पोखरेल र छोरी सितादेबी ओझाले प्रतिष्ठान स्थापना गरेका हुन् । ‘डोरमणी पोखरेल छात्रबृत्ति’ पुरस्कार भने कनककुमारीको माईलो छोरा डोरमणीको नाममा स्थापना गरिएको हो ।
कार्यक्रममा डा. नारायण पोखरेलले बुवा चन्द्रमणी पोखरेलको स्मृतिमा लेखेको पुस्तक ‘बालाई सम्झँदा’ विमोचन गरिएको छ । पुस्तकमाथि विज्ञ रमेश दाहाल र पुर्व प्राध्यपक रामरिझन यादवले चर्चा गरेका थिए ।
कार्यक्रममा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, गाउँपालिकाका पुर्व अध्यक्ष लिलानाथ निरौला लगायतको उपस्थित रहेको थियो ।
