
खोटाङ, २८ माघ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विहे भोज खाएको निहुमा फैलिएको महामारी नियन्त्रणमा आएको छ । माघ २१ गतेको विवाह भोज खाएपछि बिरामी परेका सबै स्थानीय निको भएका छन् । विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उपचारमा राखिएकाकामध्ये बाँकी रहेका चार जना बिरामी निको भएर माघ २७ गते दिउँसो घर फर्किएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताईन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारमा राखिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईले विज्ञाप्ती जारी गर्दै हाल कुनै पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको र नमूना परिक्षणबाट कुनै संक्रमण नदेखिएको जानकारी दिएका छन् ।
विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको करिव १२ घण्टापछि ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, काम्ने, वान्ता हुने, झाडापखाला लाग्ने समस्या देखिएको थियो । विरामी पर्नेको संख्या अधिक भएपछि गाउँपालिकाले माघ २४ गते दिप्लुङकै निगालावासमा शिबिर खडा गरेर उपचारको प्रवन्ध मिलाएको थियो । घर–घरमा पुगेर उपचार गर्दा महामारी नियन्त्रणमा नआएपछि उपचार शिबिर खडा गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली दिनरात खटिएका थिए । विरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट औषधि सहितको जनशक्ती मगाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार भोज खाएका जति सबै स्थानीय बिरामी परेका थिए । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेका छन् ।
