
काठमाडौं, १ फागुन । नेपाल सरकारले रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले रातो बाँदरलाई दोस्रो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ । सो घोषणा अनुसार किसानले आफ्नो निजी खेत, खला, बारीमा क्षति पुर्याउन आउने बाँदरलाई विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् ।
धपाउने वा लखेट्नेक्रममा बाँदर मरेमा किसानलाई कुनै कारबाही नहुने सूचनामा भनिएको छ । पक्रिएको बाँदरलाई राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहतको कार्यालयमा बुझाउनुपर्ने छ । धपाउने क्रममा बाँदर मर्न गए सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहबरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ । धपाउने क्रममा बाँदर मरेको विषय स्थानीय तहको वडामा समेत जानकारी गराउनुपर्ने भनिएको छ । यस व्यवस्थाले बाँदर पिडित किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । तर, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा रहेका बाँदरलाई भने धपाउन, लखेट्न वा पक्रन पाइने छैन ।
सरकारले यसअघि २०८१ माघ १० गते जंगली रातो बाँदरलाई पहिलोपल्ट कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।
