दक्षिणकाली मन्दिरमा खोटाङ्गेको वनभोज

काठमाडौं, काठमाडौंमा खोटाङ्गेको वनभोज आयोजना गरिएको छ । खोटाङ कलाकार समाज काठमाडौंसँगको सहकार्यमा खोटाङ हलेसी सेवा समाज काठमाडौंले खोटाङ्गेको बृहत वनभोज आयोजना गरेको हो । काठमाडौं बसिरहेका खोटाङ्गे फागुन २ गते काठमाडौं दक्षिणकाली मन्दिरमा वनभोज गएका हुन् । वनभोजमा चर्चित कलाकारको सांगीतिक प्रस्तुती राखिएको थियो । वनभोजमा करिब २५० जनाको उपस्थिति रहेको थियो ।

वनभोजकै अवसरमा गायक सागर संसार राईलाई ‘द भ्वाइस अफ नेपाल’को उपाधि जिताउनका लागि सहयोग जुटाइएको छ । खोटाङ हलेसी सेवा समाजकोतर्फबाट २५ हजार, खोटाङ कलाकार समाजकोतर्फबाट १० हजार र वनभोजमा सहभागीबाट गरी ९७ हजार २६५ रुपैयाँ बराबरको भोट जुटाइएको खोटाङ हलेसी सेवा समाजका सचिव कुमारबाबु बस्नेतले जानकारी दिए ।

खोटाङ हलेसी सेवा समाजका अध्यक्ष इन्दा थापा र खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम टंक श्रेष्ठको प्रमुख आतिथ्यता तथा बम बानियाँको विशेष आतिथ्यतामा आयोजना गरिएको थियो ।