होमवर्क सिकाउने वाहनामा शिक्षकबाट छात्रा बलात्कृत, यस्तो हुनसक्छ सजाय

खोटाङ, १० फागुन । खोटाङमा छात्रालाई करणी गर्ने शिक्षक पक्राउ परेका छन् । १३ वर्षीय वालिकालाई बलात्कार गर्ने सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्री पक्राउ परेका हुन् । शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती गरेको प्रहरीले जनाएको छ । आरोपित खत्री दिक्तेल इंलिस बोर्डिङ स्कुलका शिक्षक हुन् ।

करणीपछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पिडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको वारे जानकारी पाएका थिए । घटनाको जानकारीपछि पीडित बालिकाको बुवा र काका पीडकको कोठामा पुगेर प्रहरीको जिम्मा लगाएका हुन् । बालिकाको स्वास्थ्य परीक्षणपछि राती ११ बजे पिडकविरुद्ध जवरजस्ती करणी अन्तरगतको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । पीडित बालिका निरन्तर रोइरहेकी छन् ।

शिक्षक खत्रीले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणमा गएदेखि छात्रालाई केही सिकाउने वाहनामा बोलाउने गरेको पीडित परिवारले बताएका छन् ।

घट्नापछि दिक्तेल इंलिस बोर्डिङ सेकेण्डरी बोर्डिङ स्कुलले विज्ञाप्ती जारी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न, पीडितको सुरक्षा र न्यायको माग गरेको छ ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहितामा ‘मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवरजस्ती करणी गरेको’ मानिने उल्लेख छ । मुलुकी अपराध संहिताको दफा २१९ मा ‘दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्ष भन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म कैंद सजाय हुने’ व्यवस्था छ ।

शिक्षक खत्रीले पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गरेको ठहरिए मुलुकी अपराध संहिताको दफा २२३ पनि आकर्षित हुन सक्छ । सो दफामा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने, गरेमा चार वर्षसम्म कैंद र चालीस हजारसम्म जरिवाना थप हुने व्यवस्था छ ।