निर्वाचन आचार संहिता वारे पत्रकारलाई ‘क्लास’

खोटाङ, १४ फागुन । नेपाल पत्रकार महासंघ शाखा खोटाङले निर्वाचन आचार संहिता वारे एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महासंघले जिल्लाका पत्रकारलाई सहभागी गराएर निर्वाचन आचार संहिता वारे अभिमुखीकरण कार्यक्रम गरेको हो । निर्वाचनको दौरान पत्रकार तथा सञ्चार माध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पालना गर्न/गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन आचार संहिता अनुगमन अधिकृत एबं सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेले निर्वाचन आचार संहिता वारे पत्रकारलाई पुःर्नताजगी गराएका थिए ।

अभिमुखीकरण कार्यक्रममा पत्रकारले सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट उम्मेदवारको पक्ष वा विपक्षमा सामग्री प्रकाशन प्रशारण गर्न नहुने, शुल्क नलिइ कुनैपनि उम्मेदवार वा दलको विज्ञापन प्रकाशन प्रसारण गर्न नहुने चर्चा गरिएको छ ।

यस्तै, एउटा एमएफले चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्मको निर्वाचन सामग्री प्रसारण गर्न पाउने लगायतका विषयमा पत्रकारलाई जानकारी दिइएको छ । जिल्लामा एकादुई पत्रकारले भने निर्वाचन आचारसंहिता पालना नगरेको चर्चा चलेको थियो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघ शाखाले पत्रकार आचार संहिता तथा निर्वाचन आचार संहिता सम्वन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।