
खोटाङ, १४ फागुन । अध्यक्ष लगायतको समुह श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी खोटाङमा हलचल भएको छ । अध्यक्ष निर्मल राईको नेतृत्वमा जिल्ला सदस्य एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिको पुर्वअध्यक्ष प्रिथीराज राई लगायत ३७ जनाको समुह श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टीमा हलचल भएको हो ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत चुनावी अभियान चलिरहेकोबेला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राईमाथि संकट आइलागेको छ । जसपाको समानुपातिक उम्मेदवार रेणुका राई समेत श्रम संस्कृति पार्टी प्रवेश गर्ने सूचीमा छन् ।
श्रम संस्कृति पार्टीमा प्रवेश गरेका जसपा अध्यक्ष राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्व वडाध्यक्ष हुन् । यस्तै, मुगाधन लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । चुनावी कमाण्ड सम्हालिरहेका अध्यक्षले नै पार्टी छाडेपछि जसपाले उपाध्यक्ष गुरुराज राईलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाएको छ ।
यस्तै, कांग्रेस खोटाङका संगठन विभाग प्रमुख बिष्णुराज राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पाँच वर्ष निष्कासनमा परे पनि पार्टी नछाडेका बिष्णुराजले अन्ततः श्रम संस्कृति पार्टी रोजेका हुन् ।
विगतमा फरक पार्टीमा रहे पनि पहिचानको आन्दोलनमा अग्रपंक्तीमा लड्दैआएका निर्मल र बिष्णुराज एकै ठाउँमा उभिएका छन् । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गर्न आव्हान गरिएको आन्दोलनका क्रममा निर्मल किरात फोर्सको खोटाङ संयोजक बनेका थिए । किरात फोर्सलाई पुर्वनेपाल आर्मी धनीराम नछुङले ‘रोलकल’ गराएका थिए । नछुङ यसअघि नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेर जिल्ला सचिवको जिम्मेवारीमा पुगिसकेका छन् ।
चुनावको संघारमा अन्य पार्टीका नेताहरु भित्रिँदा श्रम संस्कृति पार्टीमा उत्साह थपिएको छ । सो पार्टीले खोटाङमा आरेन राईलाई प्रत्यक्ष उम्मेदवार उठाएको छ ।
