भाषणप्रति जनताको ‘वितृष्णा’

खोटाङ, १८ फागुन । खोटाङमा विगतमा चुनावताका दलहरुका ठूलठूला चुनावी सभा हुन्थे । बढीभन्दा बढी जनताको उपस्थिति देखाएर ठाउँठाउँमा आमसभा गर्ने प्रतिष्पर्धा नै हुन्थ्यो । आमसभामा बाक्लो भीड लाग्थ्यो । नेताहरु भाषण गर्थे, जनता भाषण सुन्थे । कतिपय मतदाताले उम्मेदवारका भाषण सुनेर ‘कसलाई मत हाल्ने’ भनेर निर्णय लिन्थे । तर अहिले दलहरुको चुनावी प्रचारशैली फेरिदैगएको छ । अधिकांश दलका नेताहरु आमसभामा भन्दा घरदैलो र भेटघाटमा केन्द्रित छन् । दल तथा तिनका उम्मेदवारहरुले आमसभालाई भन्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइरहेका छन् ।

विगतमा दलहरुको शक्ती प्रदर्शनको हतियार थियो आमसभा । ‘कसले ठूलो आमसभा गरेर देखाउने’ प्रतिष्पर्धा हुन्थ्यो । आमसभामा उपस्थित भीड हेरेर दलको शक्तीको आँकलन गरिन्थ्यो तर पटक–पटक भाषण सुनेर ढाँटिएका तथा अपेक्षा पुरा नभएपछि जनता भाषण सुन्न अनिच्छुक देखिएका हुन् । अहिले बोलाए पनि जनता भाषण सुन्न हत्तपत्त आउँदैनन् । वाध्यतावस आइदिए पनि आमसभा नसिकिँदै हिँड्छन् । कार्यकर्तालाई उपस्थित नगराए नागरिकको उपस्थिति संख्या ‘लज्जास्पद’ हुने त्रास छ । त्यही लज्जाबाट बच्नु छ दलहरुलाई । नागरिकमा चेतना विकास भएकाले छनौट गरेर मात्रै भाषण सुन्न जाने अवस्था बनेको दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक रविन सुनुवार बताउँछन् । सुनुवारका अनुसार हाल भाषण सुन्न नगए पनि जनताले राजनीतिक विषय बुझ्ने वातावरण बनेको छ ।

आमसभामा जनताको उपस्थिति देखाउनका लागि सवारी व्यवस्थापन, खाजा, खाना व्यवस्थानमा उत्तिकै खर्च उठ्छ । आमसभामा आफ्नै पार्टीका समर्थक र शुभेच्छुक मात्रै उपस्थित हुने भएकाले पनि दलहरुले बिशालसभा र भेलालाई कम महत्व दिएका हुन् । दलहरु ‘आफ्नै समर्थकलाई आफ्नै पार्टीको कुरा सुनाउन’ आमसभा गरिरहनुनपर्ने निचोडमा पुगेको बुझ्न सकिन्छ । त्यही कारण दलहरुको चुनावी अभियान टोल–टोलको भेलामा सिमित छन् । बरु साइनो सम्वन्ध जोडेर मतदाता फकाउने÷फकाउन लाउने, प्रत्यक्ष भेट्ने, मत दिन आग्रह गर्नमा केन्द्रित देखिन्छन् ।

अहिले कुनै पनि सूचना वा जानकारीका लागि नेताको भाषण सनिरहनुपर्ने अवस्था छैन । व्यक्ती–व्यक्तीमा सूचनाको पहुँच पुगेकाले जनताले भाषण सुन्न अनिवार्य ठान्न छाडेको समाजिक अनुसन्धानकर्ता टंक थापा बताउँछन् । ‘एक त मास जम्मा गर्दा चुनावी खर्च महंगो पर्छ,’ थापाले भने, ‘पार्टीसँग जनता रिसाएको भन्दा पनि सूचनाको पहुँचले यस्तो भएको हो ।’

दलहरुले टोलस्तरियदेखि बढीमा पालिकास्तरको भेला मात्रै गरिरहेका छन् । पार्टी प्रवेशको कार्यक्रमलाई भने अलि ठूलो र व्यवस्थित बनाएको देखिन्छ । कतिपयले भने अरुले ठूलो आमसभा गरे भने आफुले पनि गर्ने मनोस्थिति बनाएर बसेको देखियो ।

भाषणभन्दा सामाजिक सञ्जालको भर

चुनावताका दल तथा तिनका उम्मेदवारहरुले सामाजिक सञ्जाललाई भने भरमग्दुर प्रयोग गरिरहेका छन् । घरदैलो गरेको, भेला गरेको, मतदातासँग सम्वाद गरेको तस्बीर र भिडियोहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पारिएको छ । उम्मेदवारको प्रचारमा अधिकांश दलले टिम नै परिचालन गरेको छ । अरुको पोष्टमा गएर समेत आफ्नो उम्मेदवारको प्रचार गरिरहेको देखिन्छ ।

भिडियो अपिल बनाएर सामाजिक सञ्जाल तथा मिडियाको पेजमामार्फत प्रचार गरिरहेका छन् । कतिपयले प्रचार सामग्रीलाई ‘बुष्ट’ नै गरिरहेका छन् ।