
खोटाङ, १९ फागुन । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो ।
जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणना स्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए ।
मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले पाटेसन गरिएको छ । तारजालीको पाटेससनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ । फागुन २१ गते देशकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खोटाङमा १ लाख ४७ हजार १२० मतदाताले भोट हाल्दैछन् । एक सिटका लागि जिल्लामा १३ वटा दल र दुई स्वतन्त्रका गरि १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
