गोकुल दाइप्रति भावपूर्ण श्रद्धाञ्जली !

– तीर्थराज भट्टराई 

वि.सं. २०१३ साल साउन ९ गते वुवा अविरमान र आमा मिश्रामायाको कोखबाट जन्मनु भएका गोकुल परियार खोटाङको माटोले जन्माएको त्यस्तो सन्तान हुनुहुन्थ्यो, जसले आफ्नो जीवनलाई व्यक्तिगत उन्नतिमा सीमित नराखी समग्र समाज रूपान्तरणमा समर्पित गर्नुभयो । खोटाङ जिल्ला अन्तर्गत खोटेहाङ गाउँपालिका-७, खोटाङबजार स्थायी बासिन्दा गोकुल दाइ हामीबीच जिवित नभए पनि विचार, प्रेरणा र कर्मले सधैं जीवित रहनुहुनेछ ।

“मान्छे मर्छ तर असल मानिसको नाम मर्दैन” यो भनाई गोकुल दाइको जीवनमा पूर्णतः सार्थक देखिन्छ। केही मानिसको अस्तित्व शरीरसँगै समाप्त हुन्छ तर केही आफ्नो कर्म, विचार र योगदानले समाजको स्मृतिमा अमर रहन्छन् । हो गोकुल दाइ त्यही अमर व्यक्तित्व मध्ये एक हुनुहुन्थ्यो ।

विभेदको अँध्यारो चिर्ने साहसी स्वर 

हाम्रा वुवा-आमाको समयमा त्यो समयमा दलित समुदायमाथि गहिरो विभेद थियो। छुवाछूत र अपमानलाई सामान्य व्यवहारझैं लिइन्थ्यो। तर गोकुल दाइ जस्ता चेतनशील व्यक्तित्वहरूले त्यो अँध्यारो चिर्ने आँट गर्नुभयो। उहाँ नविराउने, नडराउने र अन्यायविरुद्ध सधैं प्रतिवाद गर्ने हिम्मकिलो हुनुहुन्थ्यो।

दक्षिण अफ्रिकाका महान नेता नेल्सन मण्डेलाले भन्नुभएको छ ”संसारलाई रूपान्तरण गर्ने सबैभन्दा प्रभावकारी र शक्तिशाली अस्त्र शिक्षा र मानवीय सचेतना हो।” गोकुल दाइले शिक्षालाई परिवर्तनको दीपका रूपमा बुझ्नुभयो। उहाँका लागि शिक्षा र सचेतना केवल अक्षर चिनाउने माध्यम मात्र थिएन त्यो समाज जागृत गर्ने अभियान थियो।

“जहाँ शिक्षा र चेतना, त्यहाँ परिवर्तन” भन्ने विश्वासका साथ उहाँले सामाजिक जागरणको बीउ खोटाङबजारमा रोप्नुभयो। त्यसको झिल्को खोटाङ जिल्लाभरी फैलियो । राजनीतिक, सामाजिक र सॅास्कृतिक अभियानमा धेरै उकाली ओह्राली गर्नुभयो उहाँले ले । गोकुल दाई जस्तै निडर व्यक्तिको हिम्मत र आंटले समाजमा अहिले चेतनाको नयाँ गन्तव्य खोलिदिएको छ ।

राजनीतिक सीमाभन्दा चेतना 

उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग आबद्ध नेता हुनुहुन्थ्यो। एमाले पार्टीको माध्ययमबाटै अभियान पनि चलाउनुभयो । तर सो अभियान एमालेजनका लागि मात्र थिएन । त्यसैले उहाँलाई केवल राजनीतिक घेराभित्र सीमित गर्नु अन्याय हुनेछ। उहाँ समाज सुधारक, सांस्कृतिक अभियन्ता र चेतनाका संवाहक हुनुहुन्थ्यो।

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले भन्नुभएको छ “यदि हामीले परिवर्तनका लागि अरू कसैको प्रतीक्षा गरिरह्यौं भने परिवर्तन कहिल्यै साकार हुँदैन । समयमा नै यसको नेतृत्व लिनुपर्छ” यो भनाई जस्तै गोकुल दाइले अरूको प्रतीक्षा गर्नुभएन । आफैं परिवर्तनको बाटो खोल्नुभयो। आँट र हिम्मत लिएर त्यो कालरात्री पंचायतकालीन अन्यायविरुद्ध संघर्ष गर्नु, उत्पीडितको पक्षमा उभिनु र समानताको वकालत गर्नु उहाँको जीवनको अमूल ध्येय थियो।

“ढिलो भए पनि न्यायले जित्छ” भन्ने विश्वास उहाँमा अडिग थियो। त्यस्ता महान व्यक्ति सधैं कुनै पार्टी र वादभन्दा माथिका अग्रदूत हुन्छन् । त्यसैले उहाँलाई एउटा पार्टीको सीमा भित्र मात्रै नराखी अभियान्ताको व्यवहार गरे सामाजिक न्याय र अन्यायका विरुद्ध संघर्ष गर्ने साझा दीपकको रूपमा पुजिनेछ । आस्थाको आधारमा कसैले ज्यादा पार्टीकरण गर्ने र कसैले विचारको आधारमा तिरस्कार गर्ने प्रवृत्तिको अन्त्य गर्न सके गोकुल दाइप्रति सच्चा सम्मान र न्याय हुनेछ । उहाँको आजीवन संघर्षको साझा मूल्यांकन हुनेछ ।

हास्यव्यङ्ग्य र लोकगायनको उज्यालो तारा 

खोटाङको कला क्षेत्रमा उहाँ बिनाको इतिहास अधुरो हुनेछ ।त्यो जमानामा नै हास्यव्यङ्ग्य तथा लोकगायन क्षेत्रमा उहाँ दर्विलो व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको प्रस्तुतीले मनोरञ्जन मात्र होइन चेतना पनि दिन्थ्यो। “हाँसो नै आधा औषधि हो” भन्ने उक्ति उहाँको जीवनमा सजीव थियो।

अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा मार्टिन लुथर किङ जुनियरले भन्नुभएको छ- “अँध्यारो कुना भित्र हुने अन्यायले संसारभरको उज्यालो ठाउँबाट हुने न्यायमाथि नै चुनौती खडा गर्छ।” मेरो संगतको निष्कर्ष हो यो विचार गोकुल दाइको जीवन दर्शनसँग मेल खान्छ। उहाँले व्यङ्ग्य र लोक गायनबाट अन्यायमाथि चोटिलो प्रहार गर्दै समाजलाई समाज परिवर्तनको ऐना देखाउनुभएको थियो ।

समाजमा उज्यालो छर्न घर , परिवार र समाजमा विद्रोह गर्नुभयो । परिवारका सदस्यको लालनपालन र शिक्षादिक्षामा भन्दा समाजलाई ब्यॅूझाउन जीवन समर्पण गर्नुभयो । त्यसैले आज उहाँप्रति सहैको सद्भाव र सम्मान छ ।

वैचारिक स्पष्टता र बौद्धिक गहिराइ 

भारतीय संविधानका शिल्पी भीमराव रामजी अम्बेडकरले भन्नुभएको छ  “मानव अस्तित्वको सर्वोच्च लक्ष्य बुद्धि र चेतनाको परिष्कार हुनु हो।”

गोकुल दाइले यही भाव आत्मसात् गर्नुभएको थियो। उहाँको राजनीतिक र सामाजिक संघर्ष केवल अधिकारका लागि मात्र होइन, चेतनाको उन्नयनका लागि पनि थियो । “एकताको बल ठूलो हुन्छ” भन्ने उक्ति उहाँको व्यवहारमा झल्किन्थ्यो । सबैलाई जोड्ने, मिलाउने र समन्वय गर्ने उहाँको स्वभाव प्रशंसनीय थियो। नरम र आत्मीय स्वभाव उहॅाको जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो ।

आत्मीयता र मानवीय सम्बन्ध 

गोकुल दाइको होचो कद, चुसुक्क दाह्री, सधैं मुस्कुराउने र हँसिलो अनुहार हुन्थ्यो । विचारमा पनि अग्लो र हृदयको सफा हुनुहुन्थ्यो । मलाई परिवारको सदस्यझैं माया गर्ने भएकोले नै उहाँसँगका धेरै अन्तरंग क्षणहरू आज पनि स्मृतिमा जीवित छन्। “मन मिले दूरी टाढा हुँदैन” भन्ने उक्ति हाम्रो सम्बन्धमा सजीव थियो। खोटाङबजारको गुठगाउँमा मञ्जुकुमारीसँग विवाह वन्धनमा बाँधिएपछि उहॅाका चार सन्तान ज्ञानमाला, वसन्त, अरूणा र हेमन्तको जन्मभयो ।

सबै सन्तन सज्जन र संस्कारी भए । “हुने बिरुवाले बोटको चिनारी दिन्छ ” भनेझैं उहाँका सन्तानमा उहाँकै संस्कार र चेतनाको झल्को देखिन्छ। त्यहि कारणले नै हो सन्तानमा राजनीतिक, सामाजिक र सॅास्कृतिक चेतना भरिएको पाइन्छ ।

अन्त्यमा , 

गोकुल परियार कुनै एक दलको मात्र होइन उहाँ समग्र समाजको साझा धरोहर हो । उहाँ समाज सुधारक, वैचारिक स्पष्टता भएको अगुवा, शैक्षिक तथा सामाजिक जागरणका नायक तथा भावनात्मक र साहित्यिक प्रतिभाका उज्यालो तारा हुनुहुन्थ्यो । मानिसको जीवन घाम छॅाया जस्तै हो । हरेक महान व्यक्तिको पनि जन्मपछि मृत्यु निश्चित छ ।

हो त्यही सास्वत सत्यले पूर्ण आयु पुरा हुन नपाउँदै गोकुल दाइ २०८२ फागुन १२ गते ७२ वर्षको उमेरमा सन्तान र हामी शुभेच्छुकलाई छोडेर परमधाम जानुभयो । तपाई जहाँ गएपनि समाजमा पुऱ्याउनु भएको योगदान हाम्रालागि सधैं प्रेरणाका श्रोत रहिरहने छन् । तपाई जहाँ जानुभयो यदि समाजमा काम गर्ने अवसर मिल्छ भने पक्कै पनि विगतको भन्दा अझै शसक्त नेतृत्व लिन अग्रसर बन्नुहुने विश्वास लिएको छु ।

तपाईलाई जीवनको अन्तिम क्षणमा मैले भेट्न त सकिन तर पनि ती विगतका अवस्मरणीय क्षणहरू मेरो जीवनका प्रदर्शक सम्पत्ति हुनेछन् । अतः अन्तर्मनबाट सम्मान छ यहाँलाई । तपाईको आत्माको चीरशान्तिको कामना गर्दै दशौं दिनको पूण्यतिथीको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसैगरी शोकाकुल परिवारजन तथा शुभचिन्तकमा हार्दिक समवेदना व्यक्त गर्दछु।

“असल मान्छेको सम्झना समयले मेटाउन सक्दैन।” गोकुल दाइ तपाईं हाम्रो चेतना, प्रेरणा र स्मृतिमा सधैं जीवित रहनुहुनेछ। (लेखक  नेपाली कांग्रेस खोटाङका उपसभापति हुनुहुन्छ ।)