खोटाङमा उदायो श्रम संस्कृति पार्टी, आरेन राई विजयी

खोटाङ, २४ फागुन । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । एमालेका उम्मेदवार देवबिक्रम राईलाई पछि पार्दै आरेन विजयी भएका हुन् । आरेनले १६,६१२ मत पाउँदा देवबिक्रमले १२,७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भर्खरै उदाएको श्रम संस्कृति पार्टीले पुराना दललाई पाखा लगाएको हो । कांग्रेसका बीरकाजी राईले ११,९५७, नेकपाका हरि रोकाले ९,४४३, रास्वपाका रुद्र गिरीले ५,७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत पाएका छन् ।

यस्तै, जसपाका राकेश राईले ३३७, राप्रपाका दिपक तामाङले ४७७, नेकपा (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जसपा नेपालका सुनिल चाम्लिङले १११, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत पाएका छन् । स्वतन्त्रका राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत फणीन्द्रप्रसाद पराजुलीले श्रम संस्कृति पार्टीका उम्मेदवार राई विजयी भएको घोषणा गर्दै प्रमाण–पत्र हस्तान्तरण गरेका थिए । निर्वाचित भएको प्रमाण–पत्र लिएपछि श्रम संस्कृति पार्टीले दिक्तेलबजारमा विजय जुलुस निकालेको थियो ।

प्रतिनिधिसभाको एक मात्र खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । निर्वाचनमा ३ हजार ९२८ मत बदर भएको छ ।