
खोटाङ, २६ फागुन । गोरखाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटीले कोरिया पठाउने वाहनामा एक लाख ठगी गरेका छन् । धार्मिक सेमीनारकालागि भिजिट भिसामा कोरिया पठाउने वाहनामा उपरकोटीले धरान उपमहानगरपालिका–१५ निवासी अनुशा तामाङलाई ठगेका हुन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला पुर्खौली थलो भएका अनुशाबाट उपरकोटीले कोरिया पठाइदिने भन्दै गत साउनमा एक लाख लिएका थिए । हाल मनमैजु बस्दैआएका उपरकोटीले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गरिन् ।
कोरिया जान तत्काल एक लाख जम्मा गर्न भनेपछि अनुशाले ऋण खोजेर उपरकोटीको खातामा क्यूआर गरिदिएकी थिईन् । कोरिया पुग्ने सपनामा अनुशाले उपरकोटीलाई गत साउन १४ गते ५० हजार र साउन १९ गते ५० हजार पठाइदिएको स्टेटमेन्टमा देखिन्छ । अनुशाको खाताबाट साउन १४ गते २५/२५ हजारका दरले दुई पटक र साउन १९ गते ५० हजार रकम सुजनको खातामा ट्रान्सफर भएको देखिन्छ । तर उपरकोटीले न कोरिया पुर्याए, न त पैसा नै फिर्ता दिए । पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुशाका बुवा पहलमान तामाङले बताए ।
उपरकोटीले कार्यक्रमका लागि कोरियाबाट सात जनाको माग आएको र कोरिया पुगेपछि उतै ‘काम दिलाउने’ भन्दै पैसा मागेको पहलमानको भनाई छ । पहलमानका अनुसार सुजनले काम नभए हप्तादिनमै पैसा फिर्ता दिने भनेका थिए । तर पैसा फिर्ता माग्दा पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् । पैसा फिर्ता नभए कानुनी उपचार खोज्ने पीडित परिवारको तयारी छ । फोन सम्पर्क गर्दा उपरकोटीले अनुशाबाट एक लाख लिएको स्वीकार गरे । उनले व्यक्तीगत समस्यका कारण समयमा पैसा फिर्ता दिन नसकेको प्रतिक्रीया दिए ।
सुजन र अनुशाका फुपु परमिलाको काठमाडौंमा भेट भएको थियो । सुजनले सुरुमा परमिलालाई कोरिया जान प्रस्ताव गरेका थिए तर परमिला पारिवारिक समस्यका कारण जान सक्ने अवस्था नभएपछि अनुशालाई पठाउने टुंगो लागेको थियो ।
