
खोटाङ, २२ चैत । पुर्वमा चर्चित मुन्दुम ट्रेलको प्रस्थानविन्दु तावाभञ्ज्याङमा प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस आयोजना गरिएको छ । भोजपुरको आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा ६० किलोमिटर र ४५ किलोमिटर दुरीको महिला तथा पुरुष मुन्दुम ट्रेल अल्ट्रा रेस आयोजना गरिएको हो ।
पुरुषतर्फको ६० किलोमिटर दुरीको अल्ट्रा रेसमा ओखलढुंगाका विनोद थापा मगरले प्रथम, सोलुखुम्बुका अर्जुन कुलुङले दोश्रो र मिलन कुलुङले तेश्रो स्थान प्राप्त गरेका छन् । यस्तै, महिला ६० किलोमिटर दुरीको अल्ट्रा रेसमा खोटाङका निर्मला राईले प्रथम, रोल्पाकी आश्मा विकले दोश्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पाले तेश्रो स्थान प्राप्त गरेकी छन् ।
४५ किलोमिटर दुरीको खुल्ला पुरुषतर्फ काठमाडौंका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बु दोश्रो र भोजपुरका उमेश राई तेस्रो भएका छन् । महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु प्रथम, जुम्लाकी रोशनी बुढा दोश्रो र भोजपुरकी रुष्मा राई तेस्रो भएकीछन् ।
भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बु प्रथम, धरानकै विजय कृष्ण राई दोश्रो र सुनसरीका रेशम लिम्बु तेश्रो भए भने भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही जिल्लाकी बिनिता राई दोस्रो भइन् । विजेताहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वीस सरकारको नेपालका लागि राजदूत डा. डेनेली मेउली, कोशी प्रदेशसभा अन्तर्गत आर्थिक विकास समिति सभापति विनोद बान्तवा लगायतको उपस्थिति रहेको थियो ।
