
योगीन राई
खोटाङ, २५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा तीन महिने सिलाइकटाइ तालिम आयोजना गरिएको छ । उद्यमशीलताको विकासका लागि स्थानीय सिर्जना महिला कल्याण कोषको आयोजनामा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । गत पुस १५ गते सुरु गरिएको तालिम चैत २४ गते समापन गरिएको छ । व्यवसायीक सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजना गरिएको तालिममा १० महिलाको सहभागीता रहेको थियो ।
बाम्राङकै स्थानीय एवं कांग्रेस नेता राजेन्द्र राई र मंगीता राईको पहलमा जनसुधार युवा उत्थान तथा युकेमा रहेका जयकला राई र हरि राईको प्रायोजनमा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । तालिममा कान्छी टेलर्स एण्ड ट्रेनिङ सेन्टर, दिक्तेलका नवमती तामाङले प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिईन् ।
जनसुधार युवा उत्थानका उपाध्यक्ष शंकर राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीलाई बाम्राङका अगुवा एवं राप्रपाका खोटाङ अध्यक्ष ललितकुमार राई, कांग्रेस नेता राजेन्द्र राई, तरुण दलका जिल्ला सदस्य भरत राई लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
