बाकाचोलमा विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम

खोटाङ, ३० चैत । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । इको हिमालमार्फत बालबालिकाहरूको लागि समतामूलक र गुणस्तरीय सिकाई परियोजना सञ्चालन भइरहेको क्षेत्रका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई लक्षित गर्दै विद्यालय सुशासन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु गरिएको हो ।

बैसाख ३ गतेसम्म सञ्चालन हुने विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम चैत ३० गते कालिका माविका विव्यास अध्यक्ष बीरसिंह सुनारको अध्यक्षता तथा बाकाचोलका वडाध्यक्ष नन्दकुमार तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।

विद्यालय सुधार योजना, सामाजिक लेखा परिक्षण र गुणस्तरिय शिक्षा सम्वन्धी जानकारी दिने लक्ष्यका तालिम आयोजना गरिएको इको हिमालको कृषि अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । इको हिमालले को–अपरेड नामक अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहयोग र ऐसेलुखर्क गाउँपालिकाको साझेदारीमा बालबालिकाहरूको लागि समतामूलक र गुणस्तरीय सिकाई परियोजना सञ्चालन गरिरहेको छ । तालिममा प्रशिक्षक सत्यनारायण महर्जनले सहजीकरण गरिरहेका छन् ।

तालिम उद्घाटन कार्यक्रममा स्थानीय कालिका मावि, जालपा मावि, कालिका आधारभुत विद्यालय र बौद्ध आधारभुत विद्यालयका प्रधानाध्यपक, विव्यास तथा शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि, इको हिमालको परियोजना अधिकृत यमकला पौडेल, सामाजिक परिचालक मनिषा बिश्वकर्मा लगायत ३० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष तामाङले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्दै विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सहभागीको ध्यानाकर्षण गराएका छन् । परियोजना अधिकृत पौडेलले कार्यक्रम र परियोजनाको उद्धेश्यमाथि प्रकाश पारेकी थिइन् ।