कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

खोटाङ, ३० चैत । कोरिया पठाउने वाहनामा ठगी गर्ने गोरखाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको छ । भिजिट भिसामा कोरिया पठाउने भन्दै धरानकी अनुसा तामाङलाई एक लाख ठगी गर्ने उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको हो ।

भनेको समयमा कोरिया नपठाएपछि पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाएपछि पीडितले उपरकोटी विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् । ठगी गर्ने उपरकोटीलाई पक्राउ गरी आवश्यक कारवाही गर्न र रकम फिर्ता दिलाइदिन माग गर्दै जाहेरी दिइएको अनुशाका बुवा पहलमान तामाङले बताए ।

खोटाङको बाक्सिला पुर्खौली थलो भएका अनुशाबाट उपरकोटीले कोरिया पठाइदिने भन्दै गत साउनमा एक लाख लिएका थिए । हाल मनमैजु बस्दैआएका उपरकोटीले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गरिन् ।

कोरिया जान तत्काल एक लाख जम्मा गर्न भनेपछि अनुशाले ऋण खोजेर उपरकोटीको खातामा क्यूआर गरिदिएकी थिईन् । कोरिया पुग्ने सपनामा अनुशाले उपरकोटीलाई गत साउन १४ गते ५० हजार र साउन १९ गते ५० हजार पठाइदिएको स्टेटमेन्टमा देखिन्छ । अनुशाको खाताबाट साउन १४ गते २५/२५ हजारका दरले दुई पटक र साउन १९ गते ५० हजार रकम सुजनको खातामा ट्रान्सफर भएको देखिन्छ । तर उपरकोटीले न कोरिया पुर्‍याए, न त पैसा नै फिर्ता दिए । पैसा फिर्ता माग्दा ‘दिन्छुु’ भन्दै झुलाउने गरेका छन् ।

उपरकोटीले कार्यक्रमका लागि कोरियाबाट सात जनाको माग आएको र कोरिया पुगेपछि उतै ‘काम दिलाउने’ भन्दै पैसा मागेको पहलमानको भनाई छ । पहलमानका अनुसार सुजनले काम नभए हप्तादिनमै पैसा फिर्ता दिने भनेका थिए । तर पैसा फिर्ता माग्दा पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् । फोन सम्पर्क गर्दा उपरकोटीले अनुशाबाट एक लाख लिएको स्वीकार गरेका थिए । उनले व्यक्तीगत समस्यका कारण समयमा पैसा फिर्ता दिन नसकेको प्रतिक्रीया दिएका छन् ।