खोटाङमा अटो दुर्घटनामा आमा छोरा घाइते

खोटाङ, ५ बैसाख । खोटाङमा अटो दुर्घटना हुँदा आमाछोरा घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको बुवालुङदेखि दिक्तेलतर्फ जाँदै गरेको प्र ०१–०२–००४ ह ९५७४ नम्बरको अटो दुर्घटना हुँदा आमा २३ वर्षीय अस्मिता बानीयाँ र ४ वर्षीय छोरा करण बानीयाँ घाइते भएका हुन् ।

टाउको र अनुहारमा चोट लागेका करणको अवस्था गम्भीर छ । आमा अस्मिताको पनि हात र खुट्टामा चोट लागेको छ । अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । घाइते आमाछोरा बुवालुङ निवासी हुन् । बुवालुङै चालक चन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।