
खोटाङ, ५ बैसाख । खोटाङमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार ईभी गाडी प्रदर्शनमा राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित हिमालय माविको आयोजनामा बैसाख ३ गतेदेखि बैसाख ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गत आइकार कम्पनीको भीटुथ्री गाडी प्रदर्शनमा राखिएको हो ।
सोल्मामै रहेको शुभम फाउण्डेसनको प्रांगणमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा बिराटनगरबाट आइकार गाडी प्रदर्शनमा ल्याइएको हो । विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायात बारे जनचेतना फैलाउन गाडी प्रदर्शनमा राखिएको एसपीजी अटोमोबाइल्स प्रालिको बिराटनगर शाखाका सिनियर सेल्स एम्जुकेटिभ धिरेन्द्र प्रधानले बताए ।
प्रदर्शनीमा ग्राहकलाई एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा र जेको गाडीको वारेमा पनि जानकारी दिइएको छ । एसपीजी अटोमोबाइल्सले शहर बाहिर पहिलोपल्ट आइकार गाडी प्रदर्शनमा राखेको जनाएको छ ।
नेपालमा ५० लाखमा विक्रीवितरण भइरहेको आइकारको वारेन्टी ११ वर्ष रहेको छ । नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वासका साथ ल्याइएको आइकार अफरोडमा कुदाउनका लागि उपयुक्त रहेको प्रधानले बताए ।
अटोमोबाइल्स अन्तरगतका गाडीको ब्याट्री वारेन्टी ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर (जुन पहिले हुन्छ) र मोटर वारेन्टी ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले हुन्छ) हुने भनिएको छ । ओमोडा, जेको र आइकारले नेपालमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेको जनाएको छ ।
हिमालय माविले कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा शुभम फाउण्डेशन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो ।
