
खोटाङ, १४ बैसाख । खोटाङको खोटेहाङ गाउँपालिकामा सञ्चालित कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित भएका छन् । बैसाख १४ गतेदेखि सुरु भएको परिक्षामा ४ छात्रा र ५ छात्र अनुपस्थित भएका हुन् । भगवती दिनानाथ मावि, खोटाङबजार परीक्षा केन्द्रबाट १४६ छात्रामध्ये १४२ र ७९ छात्रमध्ये ७४ छात्र मात्रै सहभागी भएको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक मानबहादुर पौडेलले जानकारी दिए । कक्षा १२ को परीक्षा अन्तरगत पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा मर्यादित, अनुशासित, शान्त र भयरहित वातावरणमा सञ्चालन भइरहेको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक पौडेलले बताए ।
भगवती दिनानाथ मावि केन्द्रबाट खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ६ वटा माविका परीक्षार्थीले परिक्षा दिइरहेका छन् । खोटेहाङ गाउँपालिकाको सिमपानी मावि र सावाकाली मावि, जन्तेढुंगा गाउँपालिकाको चिसापानी मावि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको महेन्द्रोद्धय मावि, जनता मावि र सरस्वती माविका विद्यार्थी परीक्षामा सहभागी छन् ।
यस अघिसम्म खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाका तीन विद्यालयको परीक्षा केन्द्र रहेको खोटाङबजारमा यसपल्टदेखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तीन विद्यालय थपिएको पौडेलले बताए ।
