असफलताले अझ बलियो बन्न प्रेरित गर्‍यो

तिर्थबहादुर कार्की
काठमाडौं, २२ बैसाख । मेरो नाम तिर्थबहादुर कार्की । मेरो जन्म वि.सं. २०४५ साल बैशाख ११ गते शनिबार भएको हो । मेरो जन्म एक सामान्य परिवारमा पिता कृष्णबहादुर कार्की र माता राधामायाँ कार्कीको कोखबाट कान्छा छोराको रूपमा भएको हो । साधारण परिवेशमा हुर्किएको र मैले बाल्यकालदेखि नै जीवनका वास्तविकता नजिकबाट अनुभव गरेको छु । अभाव, संघर्ष र सीमित अवसरबीच पनि मेरो मनमा केही गरौँ, अगाडि बढौँ भन्ने दृढ चाहना सधैं जीवित रह्यो ।

२०५४ सालमा च्यास्मिटार माविबाट आफ्नो प्राथमिक शैक्षिक यात्रा सुरु गरेर मैले निरन्तर मेहनत र लगनशीलताका साथ २०६४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्न सफल भएँ । उच्च शिक्षा सुरु गरे पनि परिस्थितिले साथ नदिँदा मैले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिन तर असफलताले मलाई कहिलै रोक्न सकेन, बरु अझ बलियो बन्न प्रेरित गर्‍यो ।

जीवनको अर्को मोडमा मैले फोटोग्राफी र मार्केटिङ क्षेत्रमा हात हालेँ । सिर्जनशीलता र मेहनतको संगम खोज्दै मैले आफ्ना रुचिहरूलाई पेशाको रुपमा रूपान्तरण गर्ने प्रयास गरिरहेँ यद्यपि, पारिवारिक जिम्मेवारी र आर्थिक दबाबका कारण म २०६७ सालमा वैदेशिक रोजगारको लागि साउदी अरेबिया जान बाध्य भएँ । नेपालमा इन्टरनेशनल कम्पनीमा वायरहाउस म्यानेजरको अनुभव हुँदाहुँदै पनि विदेशमा भने अपेक्षा अनुसारको काम पाउन नसक्नु मेरा लागि चुनौतीपूर्ण समय रह्यो ।

२०७१ सालमा नेपाल फर्किएपछि मैले नयाँ अध्याय सुरु गरेँ । सोही वर्ष वैवाहिक जीवनमा प्रवेश गरेँ, जिम्मेवारी अझ बढ्यो । परिवारको आवश्यकता पूरा गर्न मैले फोहोरमैला व्यवस्थापन कम्पनीमा सुपरभाइजरको रूपमा काम सुरु गरेँ तर सीमित आम्दानीले काठमाडौंजस्तो शहरमा गुजारा चलाउन कठिन भएपछि मेले हार मानिन बरु नयाँ सीप सिक्ने निर्णय लिएँ । म कार्यरत कम्पनिमै आफ्नो काम गर्दै गाडी चलाउने सीप सिकेँ ।

आज म सोही कम्पनीमा ड्राइभर र सुपरभाइजर दुवै जिम्मेवारी सम्हाल्दै आफ्नो जीवनलाई अघि बढाइरहेको छु । मैले गरेको संघर्षले देखाउँछ–परिस्थिति जस्तोसुकै भए पनि, मेहनत र धैर्यले बाटो बनाउँछ । अहिले आर्थिक अवस्थामा केही सुधार आएको छ, तर मेरो मन अझै सन्तुष्ट छैन । किनकि म केवल बाँच्न मात्र होइन, आफूले चाहेको जीवन बाँच्न चाहन्छु । मेरो मनभित्र अझै पनि नयाँ सपना, नयाँ सम्भावना र आफ्नै रुचिअनुसारको काम गर्ने चाहना जीवित छ ।

फोटोग्राफी, मार्केटिङ र पत्रकारिता जस्ता पेशा मेरो रुचिका क्षेत्र हुन् । यी मध्ये पनि पत्रकारितामा मेरो रुचि उच्च छ । यो नै मेरो जीवनको सबैभन्दा ठूलो शक्ति हो-हार नमानेको मन र नयाँ सुरुवात गर्ने आँट । हरेक ठाउमा कार्यरत रहदा अग्रजलाई सधै सम्मान गर्दै आफू सिकाईको रुपमा काम गर्ने मेरो बाल्यकाल देखिकै स्वाभाब हो ।

सँधै म कर्तव्यलाई अधिकार भन्दा माथि राख्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ बहन गर्ने भएकाले पनि आज म यहाँसम्म आउन सफल भएको छु । म बास्तबमा जीवन हामी सबैका लागि एउटा सन्देश हो-‘संघर्षले थिचे पनि सपना मर्दैनन् र मेहनत गर्ने हात कहिल्यै खाली हुँदैनन्’ भन्ने एउटा जिउदो उदाहरण हुँ । (लेखक बाहुनीडाँडा, खोटाङ निवासी हुन् ।)