पोलबाट ‘लिक’ भएर जमिनमा झरेको करेन्टले एकको मृत्यु

खोटाङ, २४ बैसाख । विद्युतको पोलबाट ‘लिक’ भएर जमिनमा झरेको करेन्टबाट खोटाङमा एकको मृत्यु भएको छ । तारबाट ‘लिक’ भएर पोल हुँदै जमिनमा झरेको करेन्टले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला पोलबाट ‘लिक’ भएर जमिनसम्म झरेको करेन्टका कारण राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताए ।

राईले नेपाल विद्युत प्राधिकरणको प्राविधिकको सल्लाहमा बेलाबेलामा ट्रान्समिटरको फ्युँज फेर्ने काम गर्दैआएका थिए । बैसाख २३ गते भने पोलबाट ‘लिक’ भएको विद्युतका कारण राईलाई करेन्ट लागेको वडाध्यक्ष राईले बताए । हावाहुरीले तार चुडाएका कारण करेन्ट ‘लिक’ भएको अनुमान गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ । मृतकको तीन छोरा र एक छोरी छन् ।