
– तीर्थराज भट्टराई
खोटाङ, १३ जेठ । नेपालको राजनीतिक इतिहास संघर्ष, बलिदान र परिवर्तनका विभिन्न कालखण्डहरू पार गर्दै आएको छ । राणा, पञ्चायत र बहुदल हुँदै गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा नेपाली नागरिकले ठूलो योगदान पुऱ्याएको इतिहास हाम्रा सामु छ । २०६५ सालमा स्थापना भएको गणतन्त्रले नेपाली नागरिकलाई प्रजाबाट सार्वभौम नागरिक बनायो । यही व्यवस्थाले अधिकार, समावेशिता र स्वतन्त्रताको आधार निर्माण गर्यो । यहाँसम्म आइपुग्न नेपाली कांग्रेस, एमाले, माओवादी लगायत राजनीतिक दलहरूको ठूलो योगदान छ । तर गणतन्त्र स्थापनाको निर्णायक श्रेय भने माओवादी जनविद्रोहलाई दिन कञ्जुस्याइँ गर्नु राजनीतिक बेइमानी ठहरिनेछ ।
विगतदेखि नै राजनीतिक नेतृत्वप्रति नागरिकको असन्तुष्टि बढ्दै गएको थियो । केही सीमित नेताको भ्रष्ट आचरण र सत्ता केन्द्रित प्रवृत्तिले समग्र व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भयो । नागरिकले खोजेको सुशासन र द्रुत विकास प्राप्त हुन नसक्दा निराशा बढिरहेको छ । २०४६ तथा २०६२/०६३ सालपछि प्राप्त उपलब्धिलाई राजनीतिक दलहरूले संस्थागत गर्न सकेनन् । केही नेताको ध्यान स्वार्थपूर्ण सत्ता, शक्ति र भ्रष्टाचारतर्फ केन्द्रित हुँदा नागरिक असन्तुष्ट बने ।
यही निराशा र अविश्वासको पृष्ठभूमिमा २०८२ साल भदौ २३ र २४ गते नेपालमा अभूतपूर्व जेन्जी आन्दोलन भयो । सरकारको अदूरदर्शी निर्णय र निहत्था नागरिकमाथि गरिएको दमनका कारण युवा विद्यार्थी शहीद भए । सयौं घाइते तथा अंगभंग भए । अरबौं मूल्यका ऐतिहासिक, पुरातात्त्विक तथा भौतिक संरचना ध्वस्त भए । आन्दोलन चलिरहँदा केपी ओलीको नेतृत्वमा रहेको तत्कालीन सरकारले राजीनामा दियो र निर्वाचन सम्पन्न गराउन सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । फागुनमा भएको आमनिर्वाचनमा पुराना दलहरूले शर्मनाक हार व्यहोरे भने करिव दुईतिहाइ मतसहित रास्वपाले सत्ताको नेतृत्व सम्हालेको छ । अहिले जे-जस्तो परिस्थिति भए पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हो, अन्य प्रकृतिको अधिनायकवाद हुन सक्दैन । अब दलहरूका लागि तत्काल सोच र चरित्रमा सुधार, सहकार्य र आत्मसमीक्षा नै समाधानको उपयुक्त विकल्प हो ।
सुधार र कमजोरीको आत्मसमीक्षा
नेपालमा राणाशासनदेखि गणतन्त्रसम्म आइपुग्दा लामो समयसम्म पालैपालो सीमित वर्ग वा राजनीतिक दलमा शक्ति केन्द्रित रह्यो । व्यवस्था र पात्र फेरिए तर प्रवृत्ति पूर्ण रूपमा फेरिएन । जनप्रतिनिधिहरूले नागरिकको अधिकार र सहभागिताको आवाजलाई कमजोर आँकलन गर्ने दुस्साहस गरे । यही अन्याय र विभेदका विरुद्ध पटकपटक आन्दोलन र विद्रोह भए । हजारौं नेपालीको बलिदानपछि गणतन्त्र स्थापना भयो । तर सत्तामा पुगेपछि अधिकांश नेतृत्वले विगतको संघर्ष र जनभावना बिर्सिए ।
गणतन्त्रपछि नागरिकले द्रुतविकास, सुशासन र पारदर्शिताको अपेक्षा गरेका थिए । तर केही राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थ र भ्रष्टाचारमा अल्झिए । सीमित व्यक्तिहरूको गलत गतिविधिले सम्पूर्ण राजनीतिक प्रणाली बदनाम भयो । खानेले सात पुस्तालाई पुग्ने गरी खाए तर नखानेले समेत दोष बोक्नुपर्ने अवस्था आएको छ । यस्तै क्रियाकलापका कारण कार्यकर्ता र आम नागरिकमा राजनीतिक नेतृत्वप्रति अविश्वास चुलिएको परिस्थिति अद्यावधिक छँदैछ ।
कुनै पनि देशमा व्यवस्था परिवर्तन मात्र समाधान होइन । नेतृत्वको सोचमा सुधार र राजनीतिक संस्कारको विकास आवश्यक हुन्छ । नागरिकको विश्वास गुमाउने नेतृत्व समाजमा टिक्न सक्दैन । गणतन्त्रले नागरिकलाई समान अवसर र सहभागिताको अधिकार दिएको छ । संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता विषय यही व्यवस्थाका उपलब्धि हुन् । नागरिक अधिकार सुनिश्चित गर्ने सबैभन्दा उपयुक्त शासन पद्धति पनि गणतन्त्र नै हो । त्यसैले गणतन्त्र नागरिक अधिकारको उज्यालो दीप हो भन्न अत्युक्ति नहोला ।
सत्ताको बागडोर सम्हालिरहेका केही नेतृत्वको आचरण अधिनायकवादी प्रवृत्तिको देखियो । त्यसैले आजको अवस्था सिर्जना भएको हो । अब विगतका कमजोरीबाट शिक्षा लिएर देश र नागरिक हितका लागि अगाडि यात्रा तय गर्नुको विकल्प छैन ।
सहकार्यको आवश्यकता
लोकतन्त्रमा निर्वाचनमा हार्नु वा जित्नु स्वाभाविक प्रक्रिया हो । पुराना दलहरूले विगतका आफ्ना गल्तीहरू स्वीकार्दै आत्मालोचना गर्नुपर्छ । नयाँ नेतृत्वले पनि अहंकार होइन सहमतिको राजनीतिक वातावरण बनाउनु पर्छ ।
राष्ट्र निर्माण कुनै एक दल वा समूहको मात्रै जिम्मेवारी होइन । सत्ता पक्ष, प्रतिपक्ष, नागरिक समाज र युवाहरू सबैले हातेमालो गरेर समृद्ध र समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ । विभाजन र द्वन्द्वले देश कमजोर हुन्छ भने सहकार्यले दर्विलो राष्ट्र र व्यवस्थालाई पनि बलियो बनाउँछ । एकता र सहकार्यबिना लोकतन्त्रको यात्रा अधुरो रहन्छ ।
आजको आवश्यकता प्रतिशोध र घृणाको होइन सहकार्यको हो । राजनीतिक स्थिरता र राष्ट्रिय एकताबाट मात्रै विकास सम्भव हुन्छ । अन्यथा नागरिकमा पुनः चरम निराशा फैलिन्छ र यो व्यवस्थाविरुद्ध जनविद्रोह अवश्यंभावी हुन्छ ।
युवा पुस्ता र भविष्यको आशा
लोकतान्त्रिक गणतन्त्र केवल वर्तमानको उपलब्धि होइन भविष्यको सम्भावना पनि हो । यही व्यवस्थाले सामान्य नागरिकलाई राज्य सञ्चालनमा सहभागी बनाएको छ । स्थानीय सरकारदेखि राष्ट्रिय नेतृत्वसम्म तल्लो तहका नागरिकको सहभागिता बढेको छ ।
आजको आवश्यकता नैतिकवान्, पारदर्शी र जनउत्तरदायी नेतृत्वको हो । युवापुस्ताले निराश होइन आशावादी बनेर सुधारको अभियानमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ । गणतन्त्रको सफलताका लागि राजनीतिक दलहरूबीच समझदारी र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता आवश्यक छ ।
यदि सबैले राष्ट्रिय हितलाई केन्द्रमा राख्ने हो भने समृद्ध नेपाल निर्माण हुन धेरै समय लाग्दैन । त्यसपछि गणतन्त्रका सुन्दर फूलहरू फुल्नेछन् र उज्ज्वल भविष्यको चन्द्र-सूर्य झण्डा उचाइमा गर्वका साथ फहरिनेछ ।
निष्कर्ष
नेपालको गणतन्त्र ठूलो संघर्ष र बलिदानको उपलब्धि हो । सरकार वा दलको नेतृत्व गर्ने केही व्यक्तिको कमजोरीका कारण व्यवस्थामाथि प्रश्न उठेको छ । व्यवस्थाको मूल भावना भनेको नागरिक अधिकार, समानता र सहभागितामा आधारित छ । व्यवस्था फेर्ने सोचभन्दा नेतृत्व सुधार्ने बाटो रोज्नुपर्छ ।
सत्ता पक्ष र प्रतिपक्ष सबैले हातेमालो गरेर राष्ट्रिय हितलाई प्राथमिकता दिन सके मात्रै गणतन्त्र सफल हुनेछ । आपसी सहकार्य, एकता र जिम्मेवार नेतृत्वबाट मात्रै समृद्ध नेपालको सपना पूरा हुनेछ । गणतन्त्र दिवसको अवसरमा सबैलाई यहि हार्दिक शुभकामना छ । (स्तम्भकार- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुन् ।)
