बाँदर धपाउने ‘बाली हेरालु’ राख्न ४५ लाख बिनियोजन

खोटाङ, ९ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउने हेरालु राख्नका लागि बजेट बिनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउने लक्ष्यका साथ नगरपालिकाले बाली हेरालु परिचालनका लागि बजेट बिनियोजन गरेको हो । असार ९ गते सम्पन्न नगरसभामा उपमेयर बिसन राईले बार्षिक बजेट तथा कार्यक्रममार्फत बाँदर लगायतका हानिकारक वन्यजन्तुबाट कृषि बालिमा हुने क्षति न्यूनिकरणका लागि ४५ लाख विनियोजन गरेको जानकारी दिए ।

नगरसभामा मेयर तीर्थराज भट्टराईले बाँदरको समस्यलाई निराकरण गर्नका लागि बाली हेरालु राख्ने निती तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै उपमेयर राईले सोका लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

बाँदरको समस्यलाई हल गर्नका लागि संघीय सरकार एवं छिमेकी पालिकाहरुसँगको समन्वयमा अल्पकालिन र दीर्घकालिन योजना बनाउने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । बाँदरबाट आजित किसानले बाँदर नियन्त्रणका लागि गुहार मागिरहेको अवस्थामा नगरपालिकाले हेरालु राख्ने विकल्प अघि सारेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित ९९ करोड ७३ लाख ६४ हजार १३ रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।