
खोटाङ, १५ असार । संखुवासभाको क्यान्सर पीडित महिलाको जीवन बचाउका लागि कतारबाट अभियान चलाइएको छ । संखुवासभा धर्मदेबी नगरपालिका–५ माम्लिङ निवासी २९ वर्षीय टीका कार्कीको सहयोगार्थ दोहाबाट अभियान चलाइएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे माइतीघर भएकी टिकाको जीवन रक्षाका लागि हाल कतारमा रहेका दिलीप श्रेष्ठको पहलमा सहयोग अभियान थालिएको हो ।
टिका वर्षदिन अघिदेखि पाठेघरको क्यान्सरबाट पीडित छिन् । पीडितको हाल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अपरेसन गरेर पाठेघर फालिसकिएको छ तर क्यान्सरको असर फैलिँदै फोक्सोमा पुगेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । क्यान्सर पीडितको सहयोगकालागि हालसम्म स्वदेश तथा विदेशमा रहेका १५५ जना दाताबाट ३ लाख १७ हजार ६३४ रुपैयाँ सहयोग जुटिसकेको अभियान्ता श्रेष्ठले जानकारी दिए । टिकाको उपचारका क्रममा हालसम्म १५ लाख खर्च भइसहेको छ । अझै लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले प्रवासबाट सहयोग अभियान सञ्चालन गरिएको श्रेष्ठले बताए ।
हाल हरेक १५ दिनमा दुई पटक किमो चढाउने गरिएको छ । थप उपचारका लागि कार्की परिवारबाट आर्थिक सहयोगको याचना भएपछि सहयोग अभियान थालिएको हो । उनलाई थप उपाचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पतालमा लैजाने तयारी गरिएको छ । टिकाको सहयोगार्थ बुवा नीरबहादुर खड्काको क्यूआरमा रकम ट्रान्सफर गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।
लिच्कीराम्चे घर भइ हाल कतार पुगेका श्रेष्ठले विगतदेखि नै स्वास्थ्यका कारण संकटमा परेका बिरामीको सहयोगार्थ अभियान सञ्चालन गर्दैआएका छन् ।
