
तीर्थराज भट्टराई (भाषित)
खोटाङ १९ असार । प्रेम सहजतामा फूलझैँ फक्रिन्छ । कहिलेकाहीँ नदीझैँ सललल बग्छ पनि । कसैले धोका दिन खोजे प्रेम कहिल्यै मर्दैन । यदि प्रेम सॅाचो छ भने जीवनको कुनै न कुनै उकाली-ओराली वा मोडमा एकपटक अवश्य जम्काभेट हुन्छ नै । प्रेम गर्ने बाटो र तरिका फरक हुन सक्छ तर साँचो प्रेमको आत्मीय मिलन अवश्य हुन्छ यो शाश्वत सत्य हो ।
मानिसको जीवनमा केही यस्ता प्रेम हुन्छन् जो समयसँगै रूप बदल्छन् । भाव र मोडहरू बद्लिन्छन् । ती प्रेमहरू न विवाहमा टुङ्गिन्छन् न पूर्ण रूपमा बिर्सन सकिन्छ । केवल सम्झनाको रूप लिन्छन् र जीवनभर मनको कुनै अज्ञात कुनामा जिवन्त रहन्छन् । मेरो जीवनको व्यथा पनि त्यही मौन प्रेमको वरिपरि घुमिरहेको दुखान्त कथा जस्तै छ । बाल्यकालमा अंकुरित प्रेम समाजको विभेदले निर्दयी ढंगबाट मोडियो । जीवनका अनेकौं संघर्षले हामीलाई विछोड गरायो । तर बुढेसकालमा पुनः मिलन भएर समयले त्यो प्रेमलाई नयाँ रूपमा परिभाषित गरेको थियो ।
हामी खोटॅाग दोर्पाको एउटै गाउँमा जन्मिएर हुर्किएका वालसखा थियौँ । पानीको पँधेरो, हिलाम्मे बाटो, विद्यालय, गोठालो जाने चरन, हाटबजार र घाँस काट्ने जंगल पनि एउटै थियो । हामी सानो छॅदा विद्यालयमा बनमाराको चुंगी खेल्थ्यौँ । कपडा मोडेर बनाएको गोलले ढुङ्गा लडाउने खेल खेल्थ्यौँ । चिलाउने र रिठ्ठाका दाना टिपेर गुच्छा खेल्थ्यौँ । ती वाल्यवस्थामा जातभात र उच-नीचको अर्थ थाहा थिएन । हामीलाई थाहा थियो केवल साथित्वको भाव र अंकुरित प्रेमको आनन्द ।
माघे सङ्क्रान्तिको बेला साप्सु खोलाको किनारामा लाग्ने लामदुवालीको मेला भर्न जान्थ्यौँ । तमाहाबाट सॅुगुरुवाको ओरालो झरेर मेलामा पुगी रातो मिठाई किन्थ्यौँ । पाँच पैसामा दसवटा मिठाई आउँथ्यो । पाँच वटा उनी खान्थिन् र बॅाकी पाँच वटा म । त्यो मिठाईभन्दा पनि बाल्यकालको आत्मीयतामा विश्वास र भरोसा थियो एक अर्काप्रति ।
दोर्पाको रंकु बागलडे ढुङ्गातिर झिसमिसेमै सालका पात टिप्न जान्थ्यौं । आमाले टपरामा पठाई दिनुभएको पुवा उनी जामाको छेउमा थाप्थिन् र म दौराको फेरमा । हामी रमाउॅदै एउटै चौतारीमा बसेर खान्थ्यौँ । तर मेरी आमाले देख्नेबित्तिकै उनी चुपचाप पर सरेर अलग्गै बस्थिन् । मलाई पनि पानी नचल्ने जातकी दलितकी छोरीसँग बसेर खान्छस् ? भन्दै गाली गर्नुहुन्थ्यो आमाले । कारण उनी विककी छोरी थिइन् म बाहुनको छोरो । त्यो समय समाजमा जातीय विभेद , अन्धविश्वास र परम्परागत कुसंस्कारले मानिसलाई गॅाजेको थियो । विकले बनाएको औजार चल्ने तर पानी किन नचल्ने ? मेरो वाल मनोविज्ञानमा कौतुहलता आउॅथ्यो । म निष्कर्ष निकाल्थें छुवाछुत गर्नु मानविय संवेदना माथिको प्रहार हो । यो गरिनु हॅुदैन सर्वथा गलत छ ।
तर हामी दुई जना मात्र हुँदा ती सबै विभेद हराउँथे । सँगै हिँड्थ्यौँ, हाँस्थ्यौँ , खेल्थ्यौं, खान्थ्यौं र आनन्दले रमाउँथ्यौँ । पँधेरोमा पानी लिन जाँदा उनी हाँस्दै मेरो माटोको गाग्रो डोकोमा राखिदिन्थिन् । म उनको डोकाको नाम्लो टाउकोमा मिलाइदिन्थेँ । त्यहॅा कुनै मानिस देखियोभने उनी टाढा सरेर अलग्गै बस्थिन् । तर मेरो मन, मुटु र आँखामा सधैँ नजिकै भएको अनुभूति हुन्थ्यो । आज म अनुमान गर्छु सायद त्यो नदेखिने निकटता नै प्रेमको पहिलो पाइला थियो होला । हामी दश-एघार वर्ष उमेरका थियौँ । सबै कुरा बुझ्ने उमेर पनि भएको थिएन । तर मनले भने नजॅानिदो तरिकाले उनीलाई अंगालिसकेको थियो मेरो हृदयको नदेथिने भित्री कुनामा ।
हामीले कहिल्यै प्रेमको नाम लिएनौँ । न हात समात्यौँ न कुनै मन्दिर गएर बाचा गर्यौँ । तर उनी कहिलेकाहीं छिताताल मावली घर गएको दिन मेरो मन बेचैन हुन्थ्यो । खाना मिठो लाग्दैनथ्यो । रात निकै लामो हुन्थ्यो । त्यो बेला अहिले जस्तो मोबाइल थिएन । हस्तलिखित चिट्ठी नै हाम्रो सम्पर्कको एकमात्र भरपर्दो माध्यम हुन्थ्यो । खोलाखोल्सीका बाँसमा ढुङ्गाले सॅाकेतिक प्रेमका सन्देश कोर्थ्यौँ । नाकेडाँडाको बाटो हुँदै म विश्वासिलो साथीको हातबाट गोप्य रूपमा चिठी पठाउँथें । चिठीमा शब्द भन्दा भावनाले ओतप्रोत भएका शब्दहरू हुन्थे होला सायद ।
समय व्यतित हॅुदै जॅादा उमेर पनि बढ्दै गयो । सात कक्षा विद्योदय निम्न माध्यमिक विद्यालय, दोर्पाबाट उत्तीर्ण गरेपछि म आठ कक्षा पढ्न दिक्तेल जानेभएं । उनी भने सात कक्षामै फेल भईन । घरको धन्दा, मेलापात र आरनको काम गर्दा नियमित विद्यालय जान पाउँदिनथिन् । पढाइभन्दा हातमुख जोड्न काम गर्नैपर्ने बाध्यता थियो उनलाई । सायद त्यसैले सात कक्षा फेल भईन् होला अनुमान गर्थें मैले ।
म हरेक शुक्रबार दिक्तेलको डेराबाट दोर्पा घर फर्किन्थेँ । शनिबार छहरे आसपास गोठालो गर्न जाँदा उनीसॅग भेट हुन्थ्यो । म कालो रंग र होचो कदको थिएँ । उनी गोरी, सर्लक्क हिस्सी परेकी र हेरौंहेरौ लाग्ने धप्प बलेकी अप्सरा जस्ती । उनी मुस्कुराउँदा मेरो मन अनायासै पुलकित हुन्थ्यो । तत्कालिन समाजले मेरो जातलाई ठूलो र उनको जातलाई सानो ठान्थ्यो । तर मेरो हृदयमा उनीभन्दा ठूलो कोही थिएन । हाम्रो प्रेममा न जातभातको बन्धन थियो न उचनिचको विभेद ।
यस्तै दिनचर्यामा तीन वर्ष बित्यो । एसएलसी उत्तीर्ण गरेपछि म उच्च शिक्षाका लागि विराटनगर पढ्न झरेँ । भौतिक शरीर टाढा भए पनि प्रेम सम्बन्ध टुटेको थिएन । हुलाकमार्फत हाम्रा चिट्ठहरू नियमित आदानप्रदान भइरहे । ती चिट्ठीहरूमा भविष्यका अनगिन्ती सपना साटासाट गर्थ्यौं । मेरो मनमा एउटा चाहना थियो- जीवनका सुखदुःखका दिनहरू उनीसँगै बिताउने ।
मैले मनमनमा उनलाई भगाएर विवाह गर्ने योजना पनि बनाएको थिएँ । तर हाम्रो प्रेमभन्दा समाजको जातीय विभेद धेरै शक्तिशाली रहेछ । अनेक उपाय सोच्दा पनि भगाउने साइत जुरेन । त्यो कुरा गाउँभरि हल्ला चलेछ । हाम्रो सम्बन्ध लुकाउन सक्ने अवस्थामा पनि रहेन अव । म गाउँको खानदानी परिवारको छोरो थिएं । सो कुरा घरका सबैलाई थहाभयो । यसले गर्दा वातावरण झन् असहज बन्दै गयो । परिवार र समाजको मानसिक यातनाले म सुस्त रोगी जस्तो भएं ।
गाउॅमा हल्ला भएपछि उनका बुबाले थहा नपाउने कुरै भएन । गाउँमा पंचायतकालको कचहरी बस्यो । पञ्चहरूले सबैका अगाडि मलाई ठिंगुऱ्याए । अपमानित गर्दै गालामा थप्पड हाने । कान पकडिएर उठबस गराए । अन्ततः कचहरीले गाउँ छोड्ने आदेश सुनायो । मेरो अपराध एउटै थियो- दलितकी छोरीलाई प्रेम गर्नु । पंचले गरेको निर्णय कस्ले उल्ट्याउने त्यो जमानामा । प्रतिवाद गर्ने कोशिस त गरें तर मेरो पक्षमा कसैले हिम्मत गरेन । त्यो पंचायती कालमा कुरिती, कुसंस्कार र जातिय विभेदको दवदवा थियो ।
त्यो दिन पहिलो पटक मैले हाम्रो समाज प्रेमलाई होइन जातलाई ठूलो ठान्दोरहेछ भन्ने बुझें । उन्नाइस वर्षको उमेरमा आफु जन्मिएको गाउँ छोड्नुको पीडा शब्दमा बयान गर्न सकिँदैन । गऱ्हॅुगो मन बनाएर म हिँड्न बाध्य भएँ । सुनसान थियो वातावरण । तैं चुप मै चुप ।सन्नाटा छाएको वातावरणमा मैले अन्तिम पटक पछाडि फर्केर हेर्दा आँसुले भरिएका आँखाले धुरूधुरू रुदै मलाई हेरिरहेकी थिइन् । त्यो मौन विदाइ आजसम्म पनि मेरो स्मृतिबाट मेटिएको छैन ।
केही वर्षपछि मैले दिएको ठेगानामा उनको एउटा चिठी आयो। उत्साह पूर्वक चिट्ठी खोलें । उनले चिट्ठीमा मात्तिम विवाह भएर दुईजिउकी भएको कुरा लेखेकी रहिछन् । त्यो खबरले मेरो युवावस्थाको सुन्दर सपना एकै क्षणमा चकनाचुर बनाइदियो । हातखुट्टा थरथर कांपे । चिटचिट पसिना आयो । मुटुको धड्कन बढ्यो । मैले मनलाई सान्त्वना दिंदै कतिपय प्रेमहरू हार्दैनन् तर समयसँग सम्झौता गर्न बाध्य हुनुपर्ने रहेछ भन्ने निष्कर्ष निकालें ।
विराटनगर पुगेपछि मैले जीवनको अर्को अध्याय सुरु गरेँ । पढाइसँगै उज्यल भविष्यको लागि संघर्ष जारी राखेँ । मलाई समयले साथ दियो । लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्ने अवसर पाएँ । विमानस्थल, भन्सार लगायतका मालदार अड्डाहरूमा लेखा अधिकृतसम्मको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो । मेहनत पनि गरें । माफियासॅगको मिलोमतोमा आर्थिक अवस्था पनि निनै राम्रो बनेको थियो । विराटनगरमा दुईवटा आलिसान पक्की घर बनाएँ । गाडी र तीनचारवटा घडेरी पनि किनेंको थिएं । पैसा र सरकारी लेखा अधिकृत भएको कारण राम्रै प्रतिष्ठा कमाएको थिएं । बाहिरबाट झट्ट हेर्दा म सफल र सम्पन्न थिएँ । तर मनभित्र भने सधैं पीडा, अशान्ति र अधुरो प्रेम कथा मडारिरहन्थ्यो ।उनको नाममा अविवाहित बस्ने निधो गरेकोले म एक्लै थिएं ।
समय वित्दै गयो । उमेर साठी वर्ष पार गरिसकेको थियो । जन्मथलो दोर्पाको घर, गाउँ र आफन्तसँगको सम्बन्ध थिएन । एक्लोपन नै मेरो जीवनको स्थायी साथी बन्यो। दिनभरि कामले व्यस्त भए पनि रात पर्नासाथ वाल स्मृतिहरूले मलाई घेर्थ्यो । । विगतको जन्मगाउँको पँधेरो, धुलाम्मे बाटो, रातो मिठाई, गोठालो जाँदाका ती दिन र उनको निश्चल मुस्कान मनमा एकपछि अर्को गर्दै आउँथे ।
त्यही बेचैनीबाट उम्किन म रक्सीको सहारा लिन्थे । तर रक्सीले शरीरलाई लठ्याए पनि सम्झनाहरूलाई कहिल्यै मेटाउन सकेन । बरु ती दिनहरू अझ ताजा भएर फर्किरहन्थे । मैले जीवनभर विवाह गरिनँ । धेरैले कारण सोधे । तर उत्तर कसैलाई दिन सकिनँ । सत्य त त्यही थियो-मेरो मनको एउटा कुनामा उनी अझै बाँचिरहेकी थिइन् । त्यो प्रेम पटक्कै मेरो चाहना थिएन बरू जीवनको कठोर तपस्याजस्तै बनिसकेको थियो । पछि अरूबाट थाहा पाएँ उनका सात जना छोरा-छोरी र एक्काइस जना नाति-नातिना भई सकेका रहेछन् । त्यो खबर सुन्दा मनमा ईर्ष्या होइन सन्तोष लाग्यो । कम्तिमा आफ्नो जीवनमा म जस्तो उनी एक्लिएकी त थिईनन् । पति, छोराछोरी , नातिनातिनासॅग खुशी जीवन विताई रहेकी हुनुपर्छ मैले अनुमान लगाएं ।
तर जीवन सधैँ एउटै लयमा नचल्ने रहेछ । समयले फेरि अर्को मोड ल्यायो । म सत्तरी वर्षको भइसकेको थिएँ । वेथिती र भ्रष्टाचारविरुद्धको जेन्जी आन्दोलनका क्रममा मेरो सबै जायजेथा नष्ट भयो । अकुत सम्पत्ती कमाएको कारण दुईवटा घर आगोमा जले, गाडी खरानी भयो। हिजोसम्म वरिपरि घुम्ने साथीहरू पनि विस्तारै टाढिँदै गए । सम्पत्तिसँगै धेरै सम्बन्धहरू पनि समाप्त भए ।
अन्ततः यो घटनापछि म एउटा सानो डेराको कोठामा सीमित जीवन बिताउन बाध्य भएँ । त्यही बेला मैले जीवनको अर्थ बुझ्ने कोशिस गरें – धन, पद र प्रतिष्ठा सबै अस्थायी रहेछन् । अन्तिमसम्म साथ दिने भनेको केवल आत्मीय सम्बन्धको सम्झना मात्र रहेछ । जीवनले मलाई धनभन्दा सम्बन्धको मूल्य ठूलो हुन्छ भन्ने पाठ सिकायो ।
एक दिन असारको साँझ थियो । त्यो दिन गर्मी असह्य थियो । हावा खान डेराबाट निक्लिएं । बुढेसकालको सहारा लट्ठी टेक्दै सडक किनारबाट हिंड्दै वरपीपलको चौतारीमा पुगें । चौतारीको छेउमा एउटी वृद्धा बाँसको पङ्खा हल्लाउँदै टोलाइरहेकी थिइन् । उनको शरीरमा च्यातिएको पुरानो लुगा थियो । खुट्टामा चप्पल थिएन । अनुहार चाउरी परेको छाला र दुःखका गहिरा रेखाहरू कोरिएका जस्तो महशुस हुन्थ्यो । तर ती थकित आँखाभित्र कतै चिनेजस्तो लाग्यो मलाई । किन हो !! उनलाई देख्नेबित्तिकै मेरो मन अनायासै उनीतिर आकर्षित भयो ।
समान उमेर समूह भएकोले मैले बिस्तारै कुरा सुरु गरेँ । उनले आफ्नो जीवनका पीडाहरू खोल्दै गइन् । श्रीमान् बितिसकेका रहेछन् । छोराबुहारीले घरबाट निकालिदिएपछि होटलमा भाँडा माझेर जीवन धानिरहेकी रहिछन् । होटलमा अरूले छोडेको जुठो खाना खानु पर्ने पीडादायी बस्तुस्थिती सुनाईन् । कुरा गर्दै जाँदा उनले आफ्नो जन्मथलो खोटाङ, दोर्पा चिउरीडाँडा र नाम मसिनी विक भनिन् ।
त्यो ठेगाना र नाम सुन्नासाथ मेरो शरीर एकाएक सिरिङ्ग भयो । एक्कासी पचपन्न वर्ष अगाडी समय मानसपटलमा घुम्यो । मेरो सामुन्ने बसिरहेकी ती वृद्धा बाल्यकालमा सॅगै पँधेरा जाने, रातो मिठाई आधा बाँडेर खाने, चिठीमा आफ्नो मन लेख्ने मेरी प्रिय प्रेमिका मसिनी पो रहिछन् ।
म केही क्षण बोल्नै सकिनँ । बुझेसकालको शरीर लगलग काम्यो । ठूलो हावाहुरी र चट्यॅाग परे जस्तो भयो । उनले मलाई एकोहोरो हेरिरहिन् । उनका आँखा रसाए । क्षणभरमै भक्कानिएर रुन थालिन् । मैले पनि आफूलाई थाम्न सकिनँ । वर्षौँदेखि मनभित्र थुनिएका भावनाहरू आँखाबाट बग्न थाले । आफु सम्हालिंदै आफ्नो गलबन्दीले उनका आँसु बिस्तारै पुछिदिएँ।
त्यो स्पर्शमा न कुनै आग्रह थियो न कुनै अपेक्षा। थियो त केवल आधा शताब्दीदेखि मौन बसेको प्रेमको अधुरो मर्म र भावुकता । हामी धेरैबेर बोल्न सकेनौँ । उनले मलाई एकोहोरो हेरिरहिन मैले उनलाई । मौनताले नै सबै कुरा विगतलाई उत्खनन गरिरहेको थियो ।
मैले उनका थरथर कमीरहेका हात समाएँ र आफ्नो डेरातिर लिएर हिँडेँ । खाली खुट्टा देखेर बाटोमा एकजोर हात्तिछाप चप्पल किनिदिएँ । ठेलावालासँग दुई किलो मालदह पाकेको आँप किनेँ । मेरो डेरामा पुगेर हामीले सँगै खाना पकायौँ। । वर्षौँपछि एउटै चुल्होमा पकाएको खाना खाँदा जीवनमा अनौठो शक्ति आयो । ७० वर्षको वृद्ध शरीरमा सोह्र वर्षे जवानी भरिएको जस्तो महशुस भयो ।
त्यो रात हामीले खाना मात्र खाएनौँ आधा शताब्दीभन्दा बढी समयदेखि मनमा गुम्सिएका कथा र व्यथालाई एक-एक गरेर साटासाट गऱ्यौं । यसले वर्षौंदेखिको मनको गऱ्हुंगोभारी विसाए जस्तो भयो ।
रात गहिरिँदै गयो । म उनको छेउमा नजिकै गएर बसेँ । उनी पनि मसॅग नजिकिईन् र बिस्तारै मेरो हात समातिन् । हामी केहीबेर निःशब्द एकअर्काको अँगालोमा बाँधियौँ । त्यो अँगालोमा न कुनै वासना थियो न कुनै अधैर्यताको बहाव । त्यहाँ केवल वर्षौंसम्म समयले छुटाएको आत्मीयता र न्यानोपन मात्र थियो । त्यो क्षण मैले महसुस गरेँ- साँचो प्रेमको आयु उमेरले मापन नगर्ने रहेछ । प्रेम शरीर जस्तो बुढो हुँदैन रहेछ । प्रेम त सम्झनासँगै वर्षौंपछी मिलन भएर आनन्दमा परिणत हॅुदो रहेछ ।
त्यो दिन मैले करोडौँ सम्पत्ति हुँदा नपाएको सन्तोष पाएँ । उच्च पदमा पुग्दा नपाएको शान्ति पाएँ । मैले अनुभूति गरें धन, पद र प्रतिष्ठाभन्दा ठूलो सम्पत्ति भनेको एउटा साँचो आत्मीयता रहेछ ।
बाहिर औंसी झैं अन्धकार निस्तब्ध रात थियो । मैले खाटबाट उठेर बत्ती निभाएँ । हामी एउटै खाटमा एकअर्काको सहारा बनेर पल्टियौँ । उनी मेरो हातमा टाउको राखेर चुपचाप सुनिरहिन् । म जीवनका अधुरा कथा सुनाउँदै गएँ । विस्तारै अंगालोमा बॅधें । उनले पनि साथ दिईन् । मनका व्यथा र कथा सुनाई रहॅदा भुसुक्कै निदाएंछु । सायद यही नै साँचो प्रेमको अन्तिम विजय थियो । (कथाकार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर हुन् ।)
