
खोटाङ, १३ असार । खोटाङको चर्चित घर्तीभीर काटेर सडक बनाउन खटिएका दुई अपरेटरलाई नगद सहित सम्मान गरिएको छ । आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक स्तरोन्नती ठेक्का अन्तरगत घर्ती पहरा काटेर सडक बनाउनमा खटिएका अपरेटरद्धय हेटौडाका प्रकाश पाख्रिन र सिन्धुलीका प्रकाश लामालाई नगद सहित सम्मान गरिएको हो । घर्ती पहरा काट्ने अपरेटरलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ घर भइ हाल काठमाडौं बसिरहेका नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल र लफ्याङकै समाजसेवी डिल्लीराम कटुवालले जनही १०÷१० हजारका दरले सम्मान गरेका हुन् ।
ज्यान मायाँ मारेर भीर काट्न खटिएका अपरेटरद्धयको प्रोत्साहन र सम्मानमा नरेशले १५ हजार र डिल्लीरामले ५ हजार पठाइदिएका थिए । नेपाल पत्रकार महासंघ शाखा खोटाङका उपाध्यक्ष चिसाङ शेर्पामार्फत प्राप्त प्रोत्साहन रकम कोशी प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री भूपेन्द्र राईले अपरेटर पाख्रिन र लामालाई हस्तान्तरण गरेका थिए ।
अपरेटरद्धयलाई भौतिक पुर्वाधार विकास कार्यालय खोटाङले पनि सम्मान गरेको छ । भौतिक पुर्वाधार विकास कार्यालयले सडक स्तरोन्नतीको ठेक्का लिने कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरका प्रोपाईटर अर्जुन बराललाई पनि सम्मान गरेको छ ।
