खोटाङका गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष पदमुक्त

खोटाङ, ३१ भदौ । खोटाङमा श्रम संस्कृति पार्टी प्रवेश गरेका गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष पदमुक्त भएका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुबलराज राई र केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राई पदमुक्त भएका हुन् । निर्वाचन आयोगले भदौ ३१ गते सूचना जारी गर्दै दल त्याग गरी अन्य दलमा प्रवेश गरेको आधारमा दुई जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

सम्वन्धित राजनीतिक दलले केन्द्रिय समितिको निर्णयसहित आयोगमा जानकारी दिएपछि गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षको पद रिक्त भएको हो । राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्वन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले दुई जनप्रतिनिधिको पद स्वतः रिक्त भएको आयोगले उल्लेख गरेको छ ।

यसअघि, श्रम संस्कृति पार्टीमा प्रवेश गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका वडाध्यक्ष जेफर राई पदमुक्त भइसकेका छन् । दिनेश एमाले र जेफर कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै, रास्वपामा प्रवेश गरेका खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका वडा सदस्य प्रदीप आचार्य पनि पदमुक्त भएका छन् । आचार्य एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए ।