सिडिओ गुरुङलाई बुस्कुट, भ्याङ्ग्रा र फेटाले स्वागत

खोटाङ, २९ भदौ । खोटाङका गुरुङ समुदायले नयाँ सिडिओ महेशकुमार गुरुङलाई स्वागत गरेको छ । गृह–मन्त्रालयबाट सिडिओको रुपमा भदौ २५ गते खोटाङ आइपुगेका उपसचिव गुरुङलाई खोटाङ गुरुङ समाजले भदौ २९ गते स्वागत गरेको हो । खोटाङमा गुरुङ समुदायबाट पहिलो सिडिओको रुपमा आएको भन्दै खोटाङ गुरुङ समाजले स्वागत गरेको जनाएको छ । खोटाङ गुरुङ समाजले सिडिओ गुरुङलाई बुस्कुट, भ्याङ्ग्रा र फेटा ओढाएर सम्मान गरेको छ ।

सिडिओ गुरुङलाई रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङले बुस्कुट, कालिका मावि नेर्पाका प्रधानाध्यपक कृष्ण गुरुङले भ्याङ्ग्रा र युवा बिरेन गुरुङले फेटा ओढाएका थिए । खोटाङमा पहिलोपल्ट गुरुङ सामुदायको सिडिओ आएका कारण समुदायकातर्फबाट स्वागत गरिएको खोटाङ गुरुङ समाजका संयोजक मोहन गुरुङले बताए । नयाँ सिडिओको स्वागतकालागि गुरुङ सामुदायका प्रतिनिधि आफ्नो भेषभुषामा सजिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।