
-बिआरपी माइलो ।
मन्दिरमा मैले
फूल चढाएँ जैले
खाली खुट्टा मैले
जल चढाएँ जैले
ऊ जुत्तासँगै मन्दिर पसि
पैसा तिरी जान्छ
कति छिटो फुत्त मागी
घर फिरि जान्छ
मिलेन कि मेरो भक्ति
भक्त चिन्नुहुन्छ ?
किन भगवान अचेल तपाईं
पैसा किन्नुहुन्छ ?
उसले ‘अ’ माग्दा
अलङ्कार दिने भगवान
मैले क माग्दा
किन दिनुहुन्न ?
उसलाई ऊ सहित
सबैथोक दिएर पनि
मैले ‘म’ माग्दा
किन दिनुहुन्न?
मेरो रगतमा,
यो जगतमा,
ऊ र म बिच
के भिन्नता छ?
उसले भरी पेट
पोल्टामा माग्दा
पोल्टो भरिदिनुहुन्छ;
मैले खाली पेट
पैँचोमा माग्दा
अलिकति,
किन दिनुहुन्न?
म मान्छेकै रुप
मान्छेकै स्वरुप
कंगाल सरि
कंकाल कुरुप
उसले ग्यांस माग्दा
ग्यांसै दिनुहुन्छ
मैले गाँस माग्दा
किन दिनुहुन्न?
-प्रकाशित मितिः २ असोज २०८३
