
सर्जु श्रेष्ठ ।
खोटाङ, ७ असोज । पहाडी क्षेत्रमा ‘बाँदर’ नाम आफैँमा एउटा आतङ्क बनिसकेको छ। खोटाङको हिसाबले हेर्ने हो भने धेरैजसो क्षेत्रमा बाँदर आतङ्कका कारण खेतीपातीमै प्रत्यक्ष असर पर्न थालेको देखिन्छ। एकातिर बसाइँसराइले रित्तो–रित्तो बनेको गाउँ, त्यसमाथि बाँदरको आतङ्क थपिँदा स्थानीयको दैनिक जनजीवन नै अस्तव्यस्त बनेको छ । बाँदर धपाउन गाउँले घरेलु तरिकाहरू जति पनि छन्, प्रायः सबै प्रयोग गरिसकेका छन् । तर बाँदर व्यवस्थापनमा प्रायः सबै उपायहरूले काम गर्न छाडेका छन्; वा सुरु–सुरुमा काम गरे तापनि पछि–पछि काम गर्न छाडेको अवस्था छ । त्यसको ज्वलन्त उदाहरण ठूलो आवाजमा पड्किने डुकु वा बन्दुक हो । सुरु–सुरुमा बन्दुक पड्काउँदा बाँदर भाग्थ्यो, तर अहिले अवस्था उल्टो भएको छ । बन्दुक पड्काएको २० देखि २५ मिनेटभित्रै सोही ठाउँमा बाँदरहरू आइपुग्छन् । त्यो आवाज अचेल “यो ठाउँमा केही छ” भनेर बाँदरलाई जानकारी दिएजस्तै भएको छ।
बाँदरको वातावरण अनुसार सिक्ने र बुझ्ने तीव्र क्षमतालाई देख्दा कुनै दिन बाँदरले हतियार वा कुनै वस्तुलाई हतियारका रूपमा प्रयोग गर्न थाल्यो भने कस्तो बितण्डा हुने हो, सोच्दा पनि डर लाग्छ । गाउँ–गाउँमा बाँदरको सङ्ख्या बढ्नुसँगै अन्य समस्याहरू पनि सल्किन थालेका छन् । जस्तैः खेतीपाती कम हुनुसँगै खाद्यान्न उत्पादनमा कमी आउनु र मानिसको घना बस्ती भएका ठाउँहरूमा छाडा कुकुरहरूको सङ्ख्या बढ्नु । त्यसैगरी बाँदर समस्याको समयमै व्यवस्थापन हुन नसक्दा आन्तरिक बसाइँसराइले झनै तीव्रता पाइरहेको छ ।
अहिले बाँदर कसरी यति ठूलो समस्याका रूपमा आउन थाल्यो त ? ऐतिहासिक रूपमा हेर्ने हो भने रामायणमा भगवान् रामले बानरसेनाको सहयोगमा रावणसँग युद्ध लडेको उल्लेख छ । अरू कुरा जे भए पनि यो किंवदन्तीले यस भेगमा बाँदरको इतिहास कति पुरानो हो भन्ने स्पष्ट पार्छ । तर प्रश्न उठ्छ-के सधैँ बाँदर र मानिसबीच आफ्नो अस्तित्वलाई लिएर यसरी नै द्वन्द्व चलेको थियो त ? बाँदरको मानव सभ्यता, जीवजन्तु र वातावरणमा के–कस्तो भूमिका छ त ?
बाँदर आफैँमा एक चञ्चल जीव हो। बाँदरले आफ्नो चञ्चलताका कारण जङ्गल पुनरुत्पादन साथै बोटबिरुवा फैलिनमा ठूलो मद्दत गर्छ । साथै बाँदरले वनस्पति, विशेष गरी ठूला रुख जहाँ बाँदरहरू बस्छन्, उनीहरूको परागसेचन (Pollination)मा पनि ठूलो भूमिका खेलेको हुन्छ । जङ्गलको पारिस्थितिक प्रणाली (Ecosystem) लाई जीवित राख्न बाँदरको ठूलो हात छ । आहार र शिकारको एकखाले प्राकृतिक चक्रको बाँदर अभिन्न अङ्ग हो । जङ्गलको परिदृश्यबाट बाँदर हटाउने हो भने जङ्गलको वातावरणीय सन्तुलन नै क्षति हुन सक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने बाँदरले आफ्नो आहारका रूपमा रुखबिरुवाको कलिलो मुना प्रयोग गर्ने हुँदा रुखबिरुवा स्वतः छाँटिएर बढ्छन् । साथै बाँदरको विष्टाले वन–जङ्गलका वनस्पतिलाई माटोको सतही पोषण दिने काम पनि गर्छ । यसरी सरसर्ती हेर्दा वातावरण सन्तुलनमा बाँदरको ठूलो भूमिका देखिन्छ । जङ्गल इकोसिस्टमबाट बाँदर हटाउने हो भने सन्तुलन नै गुम्न सक्छ । तर अहिले खड्किएको मुख्य कुरा के हो भने-बाँदर किन मानव बस्तीमा छिरिरहेको छ ? वर्तमान अवस्थामा बाँदरको चञ्चलताका कारण मानिसहरूको दिनचर्यामै ठूलो असर पुगेको छ । यस्तो किन भइरहेको छ त ?
हामीले वनजङ्गल प्रयोग गर्ने तरिकाले नै बाँदरलाई मानव बस्ती छिर्ने परिस्थिति निर्माण गरिरहेका छौँ कि ? हामीले गर्ने खेतीपातीको शैलीले नै बाँदरलाई घरआँगनमा निम्तो दिइरहेका छौँ कि, या हामीले घर–करेसाबारीमा लगाएका बोटबिरुवा साथै मानवीय तौरतरिकाले नै बाँदरलाई बोलाइरहेका छौँ ? मानिसका आफ्नै क्रियाकलापमा हामीले गहिरो अध्ययन गर्नुपर्ने पनि देखिएको छ । बाँदर समस्यासँगै बसाइँसराइ पनि मिसिँदा गाउँसँगै सिङ्गो जिल्लाकै सामाजिक–आर्थिक परिदृश्यमा गम्भीर असर परिरहेको छ । त्यसैले वर्तमान अवस्थामा बाँदर समस्या व्यवस्थापनका लागि युद्धस्तरमै काम गर्नुपर्ने देखिन्छ । सरकारले बाँदर व्यवस्थापनसम्बन्धी सम्पूर्ण खाका नै तयार पार्नुपर्ने आवश्यकता छ ।
तत्काल सरकारी माध्यमबाट ‘बाँदर सङ्कटकाल’ नै घोषणा गरी अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत रूपमै काम गर्नुपर्ने देखिन्छ । बाँदर समस्याग्रस्त क्षेत्र तोकेर मानिसहरूको दैनिक क्रियाकलापसँगै खेतीको प्रकारदेखि जङ्गल व्यवस्थापन नै वैज्ञानिक रूपमा व्यवस्थित गरेर लानुपर्छ । खेतीपाती बचाइराख्न तत्कालका लागि बाँदरले रुचि नदेखाउने खालका वैकल्पिक नगदे बालीमा स्थानान्तरण गर्ने, खेतीपातीमा बीमा योजना लागू गर्ने र सीमित क्षेत्रमा बाँदरका लागि उपयुक्त खाना हुने बोटबिरुवा रोपेर उनीहरू खेल्ने र बस्ने ठाउँको निर्माण गर्ने योजना बनाउनु एकदमै आवश्यक छ । पहिले–पहिले बाँदरलाई रामका भक्त मानेर मन्दिर-मन्दिरमा व्यवस्थापन गर्ने गरेको पनि देखिन्थ्यो। कुनै ‘बाँदर संरक्षित क्षेत्र’ (Monkey Conservation Area) तोकेर बाँदरलाई निश्चित क्षेत्रमा राख्न सके मानव र बाँदरबीचको द्वन्द्व स्वतः घट्न सक्थ्यो । बाँदरको चञ्चलता अहिले आएर मात्र बढेको होइन, परापूर्वकालदेखि नै थियो । सूचना प्रविधिको अहिलेको युगमा प्रविधिको प्रयोगबाट बाँदर व्यवस्थापन झन् सजिलो हुन सक्छ । तर मुख्य कुरा के छ भने, यो व्यक्तिगत प्रयासभन्दा पनि सरकारी स्तरमै गरिनुपर्ने देखिएको छ ।
सबैभन्दा गहिरो कुरा के छ भने, जति यो पृथ्वी मानिसका लागि आवश्यक छ, त्यति नै बाँदरका लागि पनि आवश्यक छ । जति हाम्रो अधिकार छ, उत्ति नै बाँदरको पनि छ। हामी मानिस सबैभन्दा चेतनशील प्राणी भएको नाताले आफैँलाई संरक्षण गर्दै सम्पूर्ण बोटबिरुवा, वनस्पतिदेखि प्राणीहरूको संरक्षणगर्नु हाम्रै दायित्व हो। बेलैमा यसबारे ध्यान नदिने र बाँदरले हतियार नै प्रयोग गर्न सुरु गर्यो भने चलचित्र र कथामा देखिएजस्तो भयावह रूप निकट भविष्यमै नआउला भन्न सकिदैन ।
