
खेमराज आचार्य ।
खोटाङ, १९ असोज । कहिलेकाहीँ यात्रा गन्तव्यसम्म पुग्नका लागि मात्र गरिँदैन । केही यात्रा बाटोमा भेटिने दृश्य, मानिस, स्वाद, प्रकृति र अनुभवहरूलाई मनमा सधैँका लागि बसाउन गरिन्छ । मेरो रावा खोलाको यो यात्रा पनि त्यस्तै एउटा अविस्मरणीय यात्रा बन्यो । २०८३ साल असोज १७ गते दिनको ठीक १.०० बजे दिक्तेलबाट हामी तीन जना २ वटा मोटरसाइकलमा रावा खोलातर्फ यात्राका लागि निस्कियौँ । दिक्तेलबाट मुडे–हुर्लुङ हुँदै नुनथला पुग्यौँ । नुनथला पुगेपछि त्यहाँको मिठो चिया नखाई यात्रा अघि बढ्ने कुरै भएन । चियाको एक कप सँगै थकान केही मेटियो र हामी फेरि यात्रामा अघि वढयौं । नुनथलाबाट करिब आधा घण्टा ओरालो झरेपछि हामी रावा खोलामा मोटरेबल पुल भएको स्थानमा पुग्यौँ । त्यहाँ केहीबेर रोकियौँ । खोलाको किनारामा रहेको पसलमा काटेर सुकाएर राखिएको माछा देखेपछि त्यसैलाई पकाउन लगाएर खाजा खाने निर्णय गरियो । खाजा खाइसकेपछि मोटरसाइकल अगाडि लैजानुभन्दा त्यहीँ सुरक्षित राखेर खोलाको किनारै किनार पैदल यात्रा गर्ने साथिहरुको सल्लाह अनुसार सुरु भयो यात्राको सबैभन्दा रमाइलो भाग।
रावा खोलाको चिसो हावा, वरिपरिको हरियाली, खुल्लाचौरमा बगरमा चरिरहेका पशुहरू र समथर खेतमा झुल्न थालेको धानको खेती-यी दृश्यहरूले मनलाई छुट्टै आनन्द दिइरहेका थिए । खोलाको आवाजसँगै चिसो हावाले मनमा छोइरहेको थियो । वरिपरि प्रकृतिको आफ्नै संगीत थियो । हामी पनि त्यही प्रकृतिसँग रमाउँदै अघि बढिरह्यौँ । कल्लेरी–बेसीनीरको बाटोमा लटरम्म फलेका अम्बा देखिए । बाटोमा हिँड्दै अम्बा खाँदै, कतै लटरम्म फलेका भोगटे हेर्दै, कहिले फोटो खिच्दै हामी अगाडि बढिरह्यौँ । यात्रा अब गन्तव्यभन्दा पनि आफैँमा रमाइलो बनिसकेको थियो । कल्लेरी खोलामा रहेको फलामे पुल पार गरेपछि बाटोमै एउटा सुन्दर बर–पिपलको चौतारो भेटियो । चिसो हावा चलिरहेको थियो । चौतारीमा को आएर बस्ला भनेर चौतारिले हामीलाई नै प्रतिक्षा गरिरेहे जस्तो लाग्थो । त्यसैले हामी त्यही चौतारिमा आराम गर्यौं । केहीबेरको त्यो विश्रामले शरीरलाई मात्र आराम दिएन, मनलाई पनि यात्राको सुन्दरता महसुस गर्ने समय दियो ।
अब हाम्रो अन्तिम गन्तव्य धेरै टाढा थिएन । तहाँबाट केहीबेरको यात्रापछि हामी सोरहौ भएको स्थानमा पुग्यौँ । खोलाको बीचमा बगेर आउने माछाहरूलाई छेक्नको लागि स्थानीयहरूले बनाएको एउटा अनौठो संरचना त्यहाँ देखियो । स्थानीय काठ र बाँसको प्रयोग गरेर अत्यन्तै मेहनतका साथ बनाइएको बलियो संरचना-प्रकृतिको बहावलाई बुझेर माछा पक्रिने स्थानीय ज्ञान र सीपको एउटा जीवन्त उदाहरण जस्तो लाग्यो । हाम्रो आजको बास पनि यहीँ हुनेवाला थियो । हामी माछा समाउन तयार पारिएको त्यो संरचना हेर्न थाल्यौँ, फोटो खिच्यौँ, कति माछा परेका छन् भनेर हेर्न थाल्यौँ र त्यही वातावरणमा रमाउन थाल्यौँ ।
खोलाको बीचमा एक रात
रात पर्यो र खोलाको किनारमा, पानीबाट धेरै टाढा नभएको एउटा सानो गोठ हाम्रो त्यो रातको बास बन्यो । दिक्तेलबाट आएका हामी तीन जना र माछा पक्रनको लागि त्यहीँ बसिरनु भएका तीन जना दाजुहरू-कुल छ जनाको टोली । त्यो रात हामी पाहुना थियौँ तर आतिथ्य गर्ने दाजुहरूले हामीलाई पाहुना होइन, आफ्नै मान्छे जस्तै व्यवहार गर्नुभयो । दाजुहरू हामी छ जनालाई पुग्नेगरी खाना पकाउन लाग्नु भयो । करिब ४ किलो जति माछा, स्थानीय मसला र खुर्सानीको प्रयोग गरेर तयार पारिएको त्यो माछाको परिकारको स्वाद साँच्चै अविस्मरणीय थियो । तर त्यो कुनै महँगो होटलको खाना थिएन । त्यो खाना स्थानीय उत्पादन, मेहनत, आत्मीयता र गाउँको मायाँले पाकेको थियो । आज पनि सम्झिँदा त्यो माछाको स्वाद जिब्रोमा बसे जस्तो लाग्छ ।
रातको ९.३० पछि… खोलाको आवाज र मनभित्रका डर
खाना खाइसक्दा करिब रातको ९.३० बजि सकेको थियो । हामी आराम गर्न थाल्यौँ । तर खोलाको बीचमा बनेको त्यो सानो गोठमा सुत्नु मेरोलागि पहिलो अनुभव थियो । बाहिर रावाखोला तीव्र गतिमा बगिरहेको थियो । खोलाको लगातारको ठूलो आवाज… मनमा अनेक कुरा खेल्न थाले । केही समयअघि भोटेकोशीमा आएको बाढीको सम्झना आयो । मनमा प्रश्न उठ्यो -“माथितिर ठूलो पानी परेर अचानक बाढी आयो भने के होला ?” सायद पहिलो पटक यस्तो ठाउँमा बसेको भएर होला, मनमा अलिकति डर पनि थियो । तर त्यहाँकासँगै वस्नुहुने साथि र दाजुहरूलाई भने त्यसको खासै चिन्ता थिएन । उहाँहरू बेलाबेलामा टर्च बालेर हेर्नु हुन्थ्यो माछा कति परे ? उहाँहरूको ध्यान माछामा थियो ।
म पनि बिस्तारै त्यो वातावरणसँग अभ्यस्त हुँदै गएँ र खोलाको बगर, पानीको आवाज र रातको त्यो अनौठो सौन्दर्यमा रमाउन थालेँ । दिनको केहिवेरको पैदल यात्राको कारणले थाकैको शरिर केहिबेरमै निदाएँ छु । बिहान करिव ३.४० बजेतिर बाहिरबाट माछा किन्न ग्राहक आउनु भएछ अनि म ब्यूझिएँ । सोरहौमा परेको माछा, माछा छेक्ने दाईहरुको चहल पहल हुन थालेपछि म पनि उठेर बाहिर निस्किएँ । बेलुकाको तुलनामा खोलाको बहाव केही बढेको थियो । पानी अलिकति धमिलो पनि देखिन्थ्यो । हामीले अनुमान गर्यौं-माथितिर सामान्य पानी परेको हुनुपर्छ । त्यो धमिलो पानीसँगै माछा निकै धेरै परेको थियो । स्थानीय दाजुहरूले सुराइबाट करिब २१ किलो माछा निकाल्नु भयो । त्यो दृश्य मेरा लागि निकै रोचक थियो ।
प्रकृतिको बहाव, स्थानीय ज्ञान, जोखिम र मेहनत-यी सबै मिलेर त्यहाँ एउटा जीविकोपार्जनको संसार चलिरहेको थियो । माछा धेरै परेपछि दाजुहरूले सबैभन्दा पहिले हामीलाई सम्झिनु भयो । हामीलाई लैजान जति माछा चाहियो, पहिले छुट्याइ दिनुभयो । त्यसपछि मात्र बाँकी माछा बाहिरबाट आउनु भएको ग्राहकलाई बेच्नु भयो । त्यो व्यवहारले मलाई निकै छोयो । उहाँहरूको लागि हामी ग्राहक मात्र थिएनौँ, हामी पाहुना थियौँ र पाहुनालाई प्राथमिकता दिनु गाउँको संस्कार हो ।
जोखिमबीचको जीवन
त्यहाँ बसेर हेर्दा लाग्यो-यो केवल माछा मार्ने काम होइन रहेछ । दैनिक रूपमा ठूलो पानीको सम्भावित जोखिमबीच खोलाको किनारमा बस्ने, रातभर जाग्राम बस्ने, पानीमा बगेर आएका माछा समात्ने, त्यसलाई पकाएर खाने र बढी भएका माछा बेचेर केही आम्दानी गर्ने जीवन यसमा ठुलो जोखिम छ तर त्यसैमा एउटा आत्मनिर्भरता पनि छ । प्रकृतिसँग संघर्ष गर्दै प्रकृतिबाटै जीवन चलाइरहेका ती दाजुहरूप्रति मनमा मायाँ, सम्मान र करुणा जाग्यो । यात्राको सबैभन्दा ठूलो उपलब्धि सायद यही थियो । हामी विभिन्न ठाउँ घुम्छौँ, विभिन्न शहरमा बस्छौँ ठूला होटलमा खान्छौँ होला तर त्यो रात मैले एउटा कुरा निकै गहिरोसँग महसुस गरेँ सहर ठूलो हुन सक्छ तर गाउँको मन त्यो ठुलो सहरभन्दा पनि ठूलो हुने रहेछ । खोलाको किनारमा बसेर बाहिरबाट आएका पाहुनालाई यति आत्मीयताका साथ स्वागत गर्ने ती दाजुहरूले हामीसँग केही पनि लिन मान्नु भएन । खानाको पैसा त परै जाओस्, पकाएको त्यो ४ केजी माछाको पैसा समेत लिन उहाँहरू तयार हुनु भएन । त्यो रात हामीले खाएको खाना, माछाको मूल्य र त्यसमा जोडिएको श्रमको हिसाब गर्ने हो भने ठूलो सहरमा त्यसको मूल्य १० हजार रुपैयाँभन्दा बढी हुन सक्थ्यो होला ।
बिहानको अर्को दृश्यः माछाको बजार
बिहान करिब ७ बजेतिर अर्को रोचक दृश्य देखियो माछा पार्ने सोरहौबाट विहान ४.३० बजेतिर प्रतिकेजि ७०० दरले ल्याएको माछा मोटरेवल पुलको छेउमा रहेको पसलमा थियो । ऐसेलुखर्कबाट काठमाण्डौ र इटहरी जाँदै गरेको गाडीमा यात्रा गर्ने यात्रुहरूलाई प्रतिकिलो ९०० रुपैयाँमा बेचियो । केहि समय अगाडि मात्र रातभरी ज्यानै मायाँ मारेर बडो दुखका साथ माछा समाउने ति विचरा श्रमिकले प्रतिकिलो ७०० रुपैयाँमा मात्र पाउने तर खासै ठुलो परिश्रम नगरी विचमा किनवेच गरेको भरमा प्रतिकेजि २०० रुपैयाँ कमाई हुने । यो त वडो अचम्म रहेछ, मनमा कुरा खेल्यो । रातभर खोलामा जोखिम मोलेर बस्ने किसान (माछा मार्ने व्यक्ति)भन्दा बीचमा किन्ने र बेच्ने बिचौलियाले नै बढी कमाइरहेको त छैन ? सायद यही हाम्रो ग्रामीण अर्थतन्त्रको एउटा वास्तविक चित्र पनि हो की । मेहनत गर्ने हात र बजारमा मूल्य निर्धारण गर्ने हातबीचको दूरी अझै पनि ठूलो छ।
यो यात्राले मलाई के दियो ?
रावा खोलाको त्यो यात्रा मेरोलागि केवल एउटा घुमफिर थिएन, यो यात्रा थियो प्रकृतिलाई नजिकबाट बुझ्ने, गाउँको जीवन देख्ने, स्थानीय सीप सिक्ने, स्थानीय स्वाद चाख्ने, गाउँघरका मानिसको आत्मीयता अनुभव गर्ने र ग्रामीण जीवनका चुनौतीलाई नजिकबाट महसुस गर्ने र सबैभन्दा ठूलो कुरा त्यो यात्राले मलाई फेरि सम्झायो ठाउँ सुन्दर भएर मात्र यात्रा सम्झन लायक हुँदैनरहेछ । त्यहाँ भेटिएका मानिस र उनीहरूले दिएको मायाँ नै यात्राको सबैभन्दा ठूलो सम्झना बन्ने रहेछ । रावा खोलाको चिसो हावा, खोलाको निरन्तर आवाज, रातको त्यो सानो गोठ, स्थानीय मसला र खुर्सानीमा पाकेको माछाको स्वाद, बिहान सोराहीबाट निकालिएको २१ किलो माछा र ती दाजुहरूको ठूलो मन यी सबै अब मेरो यात्राको डायरीमा मात्र होइन, मेरो सम्झनामा पनि सधैँका लागि बसिसकेका छन्। धन्यवाद। (लेखक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक हुन् ।)
