बढी भाडा लिने व्यवसायीलाई जरिवाना, बढी भाडा यात्रुलाई फिर्ता दिलाइयो

खोटाङ, २७ असोज । जिल्ला प्रहरी कार्यालय खोटाङले जिपमा बढी भाडा लिने व्यवसायीलाई जरिवाना गरेको छ । असोज २६ गते काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना १ ज ६०९४ नम्बरको जीपलाई प्रहरीले जरिवाना गरेको हो । एक जना यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको तर टिकट नदिएको गुनासो आएपछि व्यवसायीलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए ।

तोकिएकोभन्दा पाँच सय रुपैयाँ बढी भाडा लिएको गुनासो आएपछि प्रहरीले बढी भाडा पनि सम्वन्धित यात्रुलाई फिर्ता गराएको छ । हलेसीमा आइपुगेको यात्रुलाई प्रहरीले ‘चेकिङ’ गर्दा बढी भाडा लिएको तर टिकट नदिएको खुलेपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए । प्रहरीले सोधपुछ गर्दा एक जना यात्रुले मात्रै ‘बढी भाडा तिरेको तर टिकट नपाएको’ बताएका थिए ।

प्रहरीले दशैंतिहारको समयमा बढी भाडा लिए÷नलिएको, यात्रुलाई टिकट दिए÷नदिएको विषयमा छड्के अनुगमन गर्ने योजना बनाएको छ । दशैंतिहारको बेला यात्रुको चाप बढेसँगै कतिपय यातायात व्यवसायीले तोकिएकोभन्दा बढी भाडा असुल्ने गरेको गुनासो आउन थालेको छ ।