
खोटाङ, ४ असोज । मिर्गौला रोगबाट ग्रसित महिलालाई आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले घर भइ हाल उदयपुरको बेलका नगरपालिका–३ मा बसोबास गरिरहेकी गंगाकुमारी मगरको उपचारका लागि ९ लाख ६ हजार ६३९ रुपैयाँ जुटाइएको हो । दुबै मिर्गौला फेल भएका मगरको उपचारका लागि बाराहपोखरी सेवा समाज खोटाङ काठमाडौं र विभिन्न सामाजिक अभियान्ताको सहकार्य र समन्वयमा उपचार खर्च संकलन गरिएको हो ।
विपन्न आर्थिक अवस्थाका गंगाकुमारीको हाल किष्ट अस्पतालमा डायलासिस भइरहेको छ । विगतदेखि नै मुटु, प्रेसर र सुगरको रोगी रहेकी मगरको बीर अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि घर फर्काइएको थियो तर दुई महिना नबित्दै गत बैसाख २३ गते अचानक ढलेपछि बेलका नगर अस्पताल हुँदै बिराट मेडिकल कलेज पु¥याउँदा उनको दुबै मिर्गौला फेल भएको पत्ता लागेको हो । निम्न आर्थिक अवस्था भएका मगरको उपचारका लागि गत बैसाख २४ गतेबाट सुरु गरिएको अभियानका क्रममा स्वदेश तथा विदेशमा रहेका ३१९ जना दाताबाट सहयोग जुटाइएको बाराहपोखरी सेवा समाज खोटाङ काठमाडौंका पुर्वउपाध्यक्ष उमेश श्रेष्ठले बताए ।
संकलन भएको रकम असोज ३ गते बिरामीलाई हस्तान्तरण गरिएको छ । समाजका उपाध्यक्ष दिपेन बस्नेत, इन्द्रबहादुर लिमेल, पुर्वउपाध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष चन्द्रकला राईले गंगाकुमारीलाई रकम हस्तान्तरण गरेका हुन् ।
बिरामीका भाई इन्द्र लिमेल मगरले सहयोग अभियान सञ्चालन गर्ने केदार आले मगर, अर्जुन थापा मगर (मानबहादुर), रामकुमार राई, प्रकाश बन्जारा (सहयात्री), अनिल राई, ध्यानकुमार पुमा राई, पुकल श्रेष्ठ, अशोक माले, प्रकाश खपाङ्गी मगर, मगेन्द्र आले मगर, सन्देश मगर, दिपक मगर लगायतलाई धन्यवाद दिएका छन् । यस्तै, सुन्तले बचत कोष टिम कुबेत र बाराहापोखरी सेवा समाज खोटाङ काठमाडौं परिवारलाई पनि धन्यवाद दिइएको छ ।
