
खोटाङ, ५ कात्तिक । वैदेसिक रोजगारीका लागि ग्रीस जाने भन्दै उँडेका खोटाङका युवा उज्बेकिस्तान पुगेर अलपत्र परेका छन् । नेपालबाट नयाँदिल्ली हुँदै ग्रिसका लागि उँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पर्शुराम चौहान उज्बेकिस्तानमा अलपत्र परेका हुन् । बिदेश जाने सपनामा एजेन्टलाई साँढे नौ लाख बुझाएका चौहान चार महिनादेखि उज्बेकिस्तानको राजधानी ताशकेन्टस्थित एक होटलमा बसिरहेका छन् । मेनपावरको एजेन्टले ग्रीस पठाउने भन्दै उज्बेकिस्तान पुर्याएर अलपत्र पारेको चौहानले बताए ।
पीडित चौहानका अनुसार मेनपावर एजेन्ट दाङका हिमाल रोका मगरलाई किस्ता–किस्तामा ३ लाख ५० हजार र गोरखाका धनबहादुर गुरुङलाई ६ लाख बुझाएका थिए । उज्बेकिस्तानबाट ‘एक महिनामा ग्रीस पुर्याउँछु’ भनेको एजेन्टले अलपत्र पारेपछि चौहान अहिले उद्धारको पर्खाइमा छन् । सुरु–सुरुमा ‘नआत्तिनुस्, जसरी पनि ग्रीस पठाउँछु’ भन्दै अलमलाउने एजेन्टले हाल फोन उठाउनै छाडेको चौहानको गुनासो छ । साथमा खाना खाने पैसा छैन । भोकभोकै बस्नुपर्ने अवस्था छ । होटल मालिकले पासपोर्ट खोसेर राखिदिएको छ । प्रहरीसँग लुकिछिपी बस्नु परेको छ । फर्कनका लागि न फाइन तिर्ने पैसा छ, न प्लेनको टिकट किन्ने पैसा नै । पाकिस्तानीसँग रोटी मागेर खाने गरेको चौहानले बताएका छन् ।
सुरुमा चौहानले हिमाल रोका मगरमार्फत सर्बिया जाने टुंगो गरेका थिए । सर्बिया जानका लागि चौहानले २०८२ भदौमा हिमाललाई १ लाख ५० हजार बुझाएका थिए । तर सर्बिया पठाउन नसकेपछि हिमालले ग्रीस पठाउने आश्वसन दिएका थिए । चौहान ग्रीस जाने सपना बोकेर २०८२ चैत ९ गते काठमाडौं हिँडे । एजेन्टकै सहयोगमा चैत १३ गते नयाँदिल्ली पुर्याइए । नयाँदिल्लीमा होटलमा तीन महिना राखेपछि जेठ १९ गते उज्बेकिस्तान पुर्याइएको चौहानले बताए ।
घरमा छँदै आफन्तको खातामार्फत हिमालको खातामा १ लाख ५० हजार ट्रान्सफर गरिदिएका चौहानले पुःन काठमाडौं पुगेपछि २ लाख ट्रान्सफर गरिदिए । यस्तै, काठमाडौं पुगेपछि धनबहादुरलाई ३ लाख दिएका चौहानले नयाँदिल्ली पुगेपछि पुःन ३ लाख ट्रान्सफर गरिदिएको बताए ।
एजेन्टले ढाटेर उज्बेकिस्तान पुर्याइएका पर्शुरामको उद्धारकालागि गाउँमा आर्थिक सहयोग जुटाउन थालिएको छ । कात्तिक ३ गते भेला बसेर सहयोग उठाउन थालिएको वडाध्यक्ष लिलाकुमार चौहानले बताए ।
