जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम समापन

खोटाङ, १८ मंसिर । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम गरेको छ । क्याम्पसको हेल्थकेयर एण्ड नेचर सेलको आयोजनामा मंसिर ९ गतेदेखि मंसिर १८ गतेसम्म विभिन्न कार्यक्रम गर्दै जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंसिर ९ गतेदेखि ११ गतेसम्म जलवायु परिवर्तन सम्वन्धी प्रशिक्षण, मंसिर १२ र १३ गते क्याम्पस परिषर सरसफाई तथा बृक्षारोपण गरिएको हेल्थकेयर एण्ड नेचर सेलका संयोजक सहायक प्राध्यपक लिलाबहादुर खत्रीले बताए । मंसिर १७ र १८ गते दिक्तेलबजार सरसफाईपछि जलवायु परिवर्तन सम्वन्धी सामुहिक प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्दै सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । जलवायु परिवर्तन सम्वन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गरेका सहायक प्राध्यपक लक्ष्मीकुमार राई र सुवाशचन्द्र राईलाई कार्यक्रम समापनको अवसरमा प्रशंसा–पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राई, क्याम्पस प्रमुख हिराकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

२०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । बिश्व विद्यालय अनुदान आयोगको २०८० पुस १९ गतेको निर्णय अनुसार क्याम्पसले सोही साल माघ १२ गते क्यूएएमा प्रत्यायनकृत भएको प्रमाण–पत्र प्राप्त गरेको थियो ।