
खोटाङ, २९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा खोटाङको अध्यक्षमा हरिबोल आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभा अन्तरगतको चुनावी प्रकृयाबाट आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको अन्य पदका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए ।
महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना अछामे, सचिवमा राजकुमार भट्टराई, सह–सचिवमा मनोज आचार्य, समावेसी सह–सचिवमा राजन ठटाल र कोषाध्यक्षमा उजुर राई निर्विरोध भएका छन् । सदस्यमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौंलागाई र लोकमणी रिजाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश घिमिरेले बताए ।

हालसम्म पत्रकार महासंघको साधारण सदस्य मात्रै रहेका आचार्य एकैचोटी अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । उनी हलेसी खबर साप्ताहिक र हलेसीखबर डटकमका सञ्चालक हुन् । निवर्तमान अध्यक्ष दिलीप खत्रीले एक कार्यकालमै जिम्मेवारी विसाएका छन् ।
जिल्लामा पत्रकार महासंघको ३१ जना साधारण सदस्य छन् । तर मंसिर २८ गते भएको मतदानमा २३ मत मात्रै खसेको थियो । त्यसमध्ये पत्रकार महासंघको प्रदेश अध्यक्षका उम्मेदवार भरत खड्कालाई १७ मत र विवेक गौतमलाई ६ मत खसेको थियो । यस्तै, पत्रकार महासंघको केन्द्रीय अध्यक्षका उम्मेदवार निर्मला शर्माले १७ मत र रमेश बिष्टले ५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
