धनीको मात्र शहर !

✍लोकनाथ घिमिरे

काठमाडौं, ६ भदौ । शहरहरू विकास र अवसरको केन्द्रका रूपमा देखा पर्दछन। तर, साँच्चिकै ती शहरहरु सबै नागरिककालागि समान अवसर दिने स्थल बनेका छन त ? वर्तमान अवस्था हेर्दा, शहर बिस्तारै धनीकालागि मात्र रमणीय स्थल बन्दै गएको देखिन्छ ।

धनीकालागि शहर जीवनको सुविधा, विलासिता र रोजगारीको प्रतीक बनेको छ । उच्चस्तरीय सुविधा सम्पन्न अस्पताल, प्रतिष्ठित विद्यालय, विश्वविद्यालय, प्राविधिक र व्यावसायिक प्रशिक्षण केन्द्र, विभिन्न व्यापारिक अवसरहरू धनीको पहुँचभित्र छन् । महँगो बजार, रिसोर्ट, शपिङ मल र रमाइला बनभोजस्थलहरूले शहरी जीवनलाई सहज र सुविधा सम्पन्न बनाउँछ। शहरहरुको सडक, पार्क र अन्य सार्वजनिक स्थलहरू धनीकालागि सुन्दर र सुरक्षित अनुभव दिन्छन् । तर गरीब र मजदुर वर्गका लागि शहर त्यस्तो रमणीय स्थल होइन। दैनिक जीवनयापनकालागिउ नीहरू न्यूनतम ज्यालामा महँगो भाडा, महँगो खाना र अत्यावश्यक सेवाको अभावको सामना गर्न बाध्य छन ।

सस्तो र अव्यवस्थित बस्तीमा बसोबास गर्दा उनीहरूको जीवनप्रदूषण, भीडभाड र स्वास्थ्य जोखिमले भरिएको हुन्छ। शिक्षा र स्वास्थ्य सेवामा न्यून पहुँचहुँदा उनीहरूको जीवनमा अवसरको खाडल गहिरो बन्छ । शहरको सुन्दरता र सुविधा उनीहरूकालागि सपनामा मात्रै सिमित रहन्छ, वास्तविकता बन्न सक्दैन ।

गरीब र मजदुर वर्गका लागि शहरमा सामान्य जीवनयापन नै कठिन हुन्छ । सौचालय जान पनि पैसा तिर्नुपर्ने, पिउने पानी खान पनि पैसा चाहिने अवस्था छ । पैसाको अभावले पर्याप्त पानी नखानेहरूको स्वास्थ्यमा असर भोग्नुपर्ने हुन्छ । गरीबहरुले किड्नी सम्बन्धी रोगसँग जुध्नुपर्ने बाध्यता बढ्दो छ । विडम्बना के छ भने, उपचार गर्न फेरि पैसा नै चाहिन्छ । यदि कसैले अलि बढी पानी खायो भने सार्वजनिक शौचालय प्रयोगको अभावको पीडा पनि सहरका गरीब नागरिकले नै सहनुपर्छ । जीवनको आधारभूत आवश्यकता पानी र सौचालय पनि पैसासँग किनमेल गर्नुपर्ने बाध्यताले शहरलाई अझै विभेदकारी बनाइदिएको छ ।

शहरको विकासको मोडेल नै प्रायः उच्च आय वर्गलाई लक्षित गरेर निर्माण भएको हुन्छ । ठूलो फराकीलो सडक, आधुनिक भवन, लग्जरी शपिङ मल र मनोरञ्जनस्थलहरू धनीकालागि आकर्षक छन, तर यी विकास परियोजनाहरूले गरीब बस्तीलाई विस्थापित गर्ने र उनीहरूको जीवन झन् कठिन बनाउने काम गर्छन् । शहरको आर्थिक विकासमा धनीवर्गले मात्र भाग लिन्छन्, गरीब र मध्यमवर्ग सधैं पछाडि पर्नुपर्ने बाध्यता रहेको छ ।

रोजगारीका अवसर पनि असमान छन् । संचार, प्रविधि, वित्त, सेवा र व्यापार क्षेत्र धनी र शिक्षित वर्गका लागि मात्र सहज पहुँचयुक्त छन् । जबकि दैनिक ज्यालादारी, निर्माणकार्य, सफाइ, ढुवानी जस्ता श्रमिक काममा संलग्न गरिबहरूले धेरै मेहनत गर्दा पनि न्यून आर्थिक लाभ पाउँछन् ।

समाजमा समान अवसरको अभावले असमानता बढाउँछ । शहरको सुशासन, समावेशीनीति र सार्वजनिक जवाफदेहिता कमजोर हुँदा गरिब (हुँदा मात्र खाने) नागरिकको जीवन थप कष्टकर हुँदै गएको छ । संविधानले प्रत्येक नागरिकलाई प्रद्त्त मौलिकहक अनुसार शिक्षा, स्वास्थ्य, आवास र यातायात पहुँच सुनिश्चित गर्नु अपरिहार्य छ । यदि शहर केवल धनीकालागि विकास गरिन्छ भने त्यो समाज दीगो, न्यायपूर्ण र समावेशी बन्न सक्दैन ।

सांस्कृतिकरुपमा पनि शहरले सामाजिक असमानता झल्काउँछ । हुने खाने शहरीयाहरुले प्रत्येक वर्षको तीजपर्वमा समेत महिना दिन अगाडीदेखि नै महँगा पार्टी प्यालेसमा बडेमानका साँस्कृतिक तीज कार्यक्रमको उत्सव मनाउँछन्,जहाँ सुविधाको कुनै कमी हुँदैन। जबकि हुँदा खाने गरीब परिवारले परम्परागत ढाँचामा, सिमित स्रोत साधनमा, घरघरमै परम्परा र संस्कारको संरक्षण गर्दै पर्व मनाई रहेका हुन्छन् । यसले पनि शहरमा हुने खाने र हुँदा खाने बीचको सांस्कृतिक र सामाजिक विभेदलाई अझ स्पष्ट बनाउँछ ।

अतः तीनै तहका सरकारले सहरी योजना निर्माणगर्दा सबै नागरिकको हितमा आधारभूत सेवा र सुविधाहरू सबैका लागि सुनिश्चित गर्दै दीगो विकासमा, समान अवसर र सामाजिक न्याय लागू गर्दै समाजको सक्रिय सहभागिता सुनिश्चितता गर्न आवश्यक छ ।

शहरमा गरीब र मध्यमवर्गले पनि सम्मानजनक जीवन यापनगर्न सक्ने वातावरण निर्माण गर्नु जरूरी छ ।