नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने युवराज सम्पर्क विहिन

खोटाङ, ११ भदौ । नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने आरोही युवराज राई रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्क विहिन बनेका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क निवासी राई भदौ १० गते तिब्बततर्फबाट भोटेकोशीमा झरेको बाढीपछि सम्पर्क विहिन बनेका हुन् । तिब्बततर्फबाट रसुवा झर्नेक्रममा आरोही राई सम्पर्क विहिन बनेको भाई अर्जुन नाछिरिङले बताए ।

भिषण बाढीपछि आरोही राई सहित खोटाङका सात जना सम्पर्क विहिन बनेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भइ हाल नेपाली सेनाको मैलुङ पोष्टमा कार्यरत लेसनायक पवन खत्री दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका कविन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बालकुमार तामाङ र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका यसबहादुर राई सम्पर्क विहिन बनेका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका बिपन परियार सम्पर्क विहिन बनेको प्रहरीले जनाएको छ ।