वन तथा वातावरण शिर्षकको बजेटमा स्थानीय सरकारको मनोमानीः फेकोफोन

खोटाङ, २४ भदौ । खोटाङ सहित चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघले स्थानीय तहमा वन तथा वातावरण शिर्षकको बजेट आफुखुसी खर्च भइरहेको गुनासो गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका सामुदायीक वन उपभोक्ता महासंघले स्थानीय तहमा वन तथा वातावरण शिर्षकमा बिनियोजन हुने बजेट मनोमानी खर्च भइरहेको गुनासो गरेका हुन् । भदौ २३ र २४ गते हलेसीमा आयोजना गरिएको संस्थागत र कानूनी क्षमता अभिवृद्धि सम्वन्धी छलफलमा सहभागी सामुदायीक वन उपभोक्ता महासंघका प्रतिनिधिले सबै स्थानीय तहले वन तथा वातावरण शिर्षकको बजेट लक्षित समुहसँग समन्वय नगरी खर्च गरिरहेको चर्चा गरेका हुन् । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा, खोटाङले चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघकर्मीलाई भेला गरेर छलफल आयोजना गरेको हो ।

छलफलमा स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायीक वनमाथि अनावश्यक करको झमेला थोपरेको, सरकारले स्थानीय वन पैदावारको सदुपयोगमा ध्यान नदिइ विदेशी काठ आयत गरिरहेको चर्चा चलाइएको सामुदायीक वन उपभोक्ता महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष मोहन गुरुङले बताए ।

छलफलमा जलवायु परिवर्तनको अशर तथा क्षती न्यूनीकरणमा सरकार संवेदनशील बन्न नसकेको भन्दै आलोचना गरिएको छ । हिम पहिरोबाट हुने क्षतीबाट बच्ने उपाय वारे पुर्वतयारी अभावमा भोटेकोशी बाढीबाट जनधनको क्षती भएको छलफलको निष्कर्ष छ । यस्तै, जलवायु परिवर्तन न्यूनीकरणमा सामुदायीक वनले पुर्‍याएको योगदानलाई सरकारले कदर गर्न नसकेको चर्चा गरिएको छ ।

छलफलमा चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष र पालिका अध्यक्षको सहभागीता रहेको थियो । भेलामा महासंघका केन्द्रीय महासचिव पार्वता गौतम र प्रदेश अध्यक्ष तुलसी संग्रौलाले सहजीकरण गरेका थिए । कार्यक्रमका अतिथि लगायतलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले खादा ओढाएर सम्मान गरेकी थिईन् ।