
काठमाडौं, ७ भदौ । प्रतीक्षित फिल्म ‘माइतीघर’को शीर्ष गीतलाई लिएर निर्माणपक्षले दर्शकमाझ ‘सरप्राइज’ ल्याउन लागेको छ । निर्माता रोहित अधिकारीका अनुसार ‘प्राणभन्दा प्यारो माईतीघर’ बोलको शीर्ष गीतलाई आउँदो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।
भारतीय गायिका सञ्जिवनीको स्वरमा रि-रेकर्ड गरिएको गीतको दृश्यालाई ५० लाख बढीको लगानीमा ११ दिन लगाएर छायांकन गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पासँगै ठूलो कोरस टोलीको नृत्य देख्न पाइनेछन् ।
निर्माता अधिकारीका अनुसार बाग्लुङमा खिचिएका पुराना दृश्यलाई प्रयोग नगरी सम्पूर्ण भिडियो नयाँ रुपमा खिचिएको छ । आगामी असोज १३ गते रिलिज हुने फिल्म माईतीघरको प्रचारलाई थप सशक्त बनाउन यही गीत महत्वपूर्ण हतियार हुने विश्वास निर्माणपक्षले लिएको छ । निर्माणपक्षले यही गीतमा आधारित भिडियो प्रतियोगिता समेत घोषणा गरिसकेको छ, जसमा उत्कृष्ट भिडियो सिर्जना गर्ने एक जनाले पुरस्कार स्वरुप ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
मिलन तामाङ निर्देशित यस फिल्ममा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतको अभिनय रहेको छ ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको ‘माइतीघर’मा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ भने रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल छन् ।
