माघे संक्रान्तीको अवसरमा बराहपोखरीमा भलिबल प्रतियोगीताको तयारी

खोटाङ, १८ पुस । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगीताको तयारी गरिएको छ । माघे संक्रान्तीको अवसर पारेर जनजागृति युवा क्लवको आयोजनामा पुस २७ गतेदेखि माघ १ गतेसम्म भलिबल प्रतियोगीता गर्न लागिएको हो ।
भञ्ज्याङ खेलमैदानमा सञ्चालन हुने प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संयोजक प्रकाश खपाङ्गी मगरले जानकारी दिए ।

एमाले बराहपोखी गाउँपालिका–१ वडा कमिटिको प्रायोजनामा जनजागृति युवा क्लवले प्रतियोगीताको तयारी गरेको हो । प्रतियोगीताका लागि पुस २६ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने छ । सहभागी हुने खेलाडीहरु साविकको वडाको भएको खुल्ले कागजात पेश गर्नुपर्ने क्लवले जनाएको छ ।

प्रतियोगीता संविधानसभा सदस्य एबं एमाले केन्द्रीय कमिटि सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यता एवं नेपाल मगर संघ खोटाङका अध्यक्ष युवराज थापा मगको विशेष आतिथ्यतामा सञ्चालन हुनेछ । भलिबल प्रतियोगीतासँगै हुर्रा, सालैज्यु, कौराहा, लाखे, साकेला प्रदर्शनी गर्ने तयारी गरिएको छ । साँस्कृतिक नृत्य प्रदर्शनीमा सहभागीलाई पनि उचित पुरस्कार सहित प्रमाण–पत्रको व्यवस्था हुने संयोजक मगरले बताए ।

यस्तै, माघ १ गते धुमधामका साथ माघे संक्रान्ती मेला लगाउने तयारी गरिएको छ ।